यसपालिको विश्वकप कसले हात पार्ला ?

यसपालिको विश्वकप कसले हात पार्ला ?


w ध्रुव केसी
विश्वकप कसले जित्ला भन्ने कुरामा अनुमान र अड्कल लगाउन सकिने भए पनि ठ्याक्कै यो नै टिमले जित्छ भनेर भन्न सकिने अवस्था छैन । विश्वकप खेल्ने सबै ३२ वटा टिम उत्कृष्ट छन् । हाल दक्षिण अफि्रकामा सञ्चालन भइरहेको विश्वकप फुटबलमा फुटबलका पावरहाउसकै जगजगी रहने कुरामा शङ्का गर्न मिल्दैन । वर्तमान अवस्थामा ब्राजिल, इंग्ल्यान्ड, इटाली, अर्जेन्टिना, जर्मनी र स्पेनमध्येबाट कसैले विश्वकपको उपाधि हासिल गर्ने पक्का छ । र पनि, म स्पेनको प्रशंसक भएकाले यो विश्वकप स्पेनले जितेको हेर्न चाहन्छु । स्टार खेलाडीहरूको बाहुल्य र राम्रो खेल्दाखेल्दै पनि अहिलेसम्म स्पेनले विश्वकप नजितेका कारण नयाँ फेसले विश्वकप जितोस् भन्ने मेरो चाहना हो । स्पेन विश्वकपको दाबेदार टोली भएकोले पनि यसपटक स्पेनले राम्रो प्रदर्शन गर्ने कुरामा म विश्वस्त छु । स्पेनको कमजोरी भनेको लिग चरणपछिका खेलहरू हुन् । यदि ती खेलहरूमा स्पेनले सुझबुझका साथ खेल्यो भने यसपटक स्पेनले विश्वकप उचाल्ने कुरामा सायदै कसैलाई शङ्का होला ।

w विराटकृष्ण श्रेष्ठ
यो विश्वकप फुटबलकै महारथीमध्ये एकले लैजानेछ भन्दा अतिसयोक्ति नहोला । विगतका विश्वकपका नकआउटका खेलहरूको विश्लेषण गर्दा ब्राजिल, जर्मनी, इटाली र अर्जेन्टिना अगाडि देखिएका छन् । उनीहरूले लिगचरणमा फितलो प्रदर्शन गरे पनि नकआउट चरणमा उत्कृष्ट प्रदर्शन गरेर विश्वकपमाथि कब्जा गरेको इतिहास हाम्रोसामु छ । लिग चरणमा राम्रो प्रदर्शन गरे पनि नकआउट चरणमा अकल्पनीय पराजयको सामना गरिरहेका इंग्ल्यान्ड, स्पेन, पोर्चुगल र नेदरल्यान्ड पनि अहिले उपाधिको दौडमा छन् । यसरी यो विश्वकपको उपाधिका लागि महारथी टिमहरूबीच नै प्रतिस्पर्धा हुने मेरो ठम्याइ छ । अड्कल र अनुमान लगाउँदा सबैले आ-आफ्नो राय प्रकट गर्ने भएको हुनाले म पनि यो विश्वकप इंग्ल्यान्डले जितेको हेर्न चाहन्छु । मेरो मनपर्ने टिम इंग्ल्यान्ड भएकोले यसले विश्वकप जितेमा खुसी हुनेछु । वर्तमान अवस्थामा अन्य टोलका खेलाडी र प्रशिक्षकहरूले पनि विश्वकपको प्रमुख दाबेदारको रूपमा इंग्ल्यान्डको नाम प्रमुख रूपमा लिएका कारणले पनि यो विश्वकप इंग्ल्यान्डले जित्ने सम्भावना निकै बढेर गएको छ ।

w दिनेश श्रेष्ठ
कुरा स्पष्ट छ, यो विश्वकप अर्जेन्टिनाले जित्छ । मैले भनेपछि जित्छ, जित्छ, जित्छ । तपार्इंलाई थाहा होला नि, अर्जेन्टिनाको टोलीमा विश्वकै नम्बर एक स्ट्राइकर लियोनल मेसी छ । जुन टिममा मेसीजस्तो विश्वस्तरीय स्ट्राकर छ त्यसले विश्वकप नजितेर कसले जित्छ ? अर्को कुरा अर्जेन्टिनाका प्रशिक्षक म्याराडोना भएपछि सुनमा सुगन्ध थपिएको छ । मलाई लाग्छ, जसरी सन् १९८६ मा म्याराडोना एक्लैले विश्वकप अर्जेन्टिनालाई दिलाएका थिए यसपटक पनि उनको प्रशिक्षणमा अर्जेन्टिनाले विश्वकप जित्नेछ । मेरो मनपर्ने खेलाडीहरूमा पहिले म्याराडोना थिए भने अहिले मेसी हुन् । यो विश्वकपमा मेसीले उत्कृष्ट प्रदर्शन गर्ने कुरामा म ढुक्क छु । मेसीले विश्वकप छनोट चरणका खेलहरूमा सोचेबमोजिमको प्रदर्शन गर्न नसके पनि विश्वकपमा चाहिँ त्यस्तो हुने छैन । मेसी र म्याराडोनाको जुगलबन्दीले यो विश्वकपमा चमत्कार देखाउनेछ । सारा विश्वका फुटबलप्रेमीहरू गुरु-चेलाको समन्वय देखेर मन्त्रमुग्ध हुनेछन् । म्याराडोना सफल खेलाडी भए पनि सफल प्रशिक्षक बन्न यो विश्वकप साध्य हुनेछ । मलाई विश्वास छ- म्याराडोना आफ्नो रणनीतिकै कारण सफल प्रशिक्षक बन्नेछन् । यो विश्वकप म्याराडोना र मेसीको नामले चिनिनेछ ।

w दीपक विष्ट
मेरो मनपर्ने खेलाडी लियोनल मेसी हुन् । उनको खेलबाट म निकै प्रभावित भएको छु । अझ मेसीलाई प्रत्यक्ष रूपमा बेइजिङ ओलम्पिकमा भेट्न पाएपछि त म उनको फ्यान नै बनेको छु । मैले बेइजिङ ओलम्पिकमा मेसीलाई नेपालको ब्याच दिने शुभ अवसर पनि प्राप्त गरेको थिएँ । । मेसी विश्वको नम्बर एक स्ट्राइकर भएर पनि उनमा कुनै किसिमको घमण्ड नदेख्दा म आश्चर्यचकित भएको छु । मेसीको यही व्यक्तित्वबाट प्रभावित भएर मैले केही मात्रामा उनको राम्रोे पक्षलाई लिने कोसिस गरेको छु । खेलाडी जति ठूलो भए पनि व्यवहारमा परिपक्व हुनुपर्ने पाठ मैले उनीबाट सिकेको छु । यो विश्वकप कसले हात पार्ला भन्ने प्रश्नमा म मेसीको प्रशंसक भएकोले उनले उत्कृष्ट खेलेको देख्न चाहन्छु । अर्जेन्टिनाले जितेको हेर्न चाहन्छु । मेसीअघि मलाई मनपर्ने खेलाडी म्याराडोना हुन् । अहिले म्याराडोनाको प्रशिक्षणमा अर्जेन्टिना रहेकोले यो विश्वकप अर्जेन्टिनाले जित्ने कुरामा म ढुक्क छु । जसरी म्याराडोनाले सन् १९८६ को विश्वकप एकल बलबुतामा जितेका थिए यसपटक त्यस्तै चमत्कार मेसीले देखाउनेछन् । अमेरिकामा सम्पन्न भएको विश्वकपमा म्याराडोनाले कोकिन खाएको आरोपमा विश्वकपमा प्रतिबन्ध लागेपछि म निरश भएर उक्त विश्वकप नै हेरेको थिइनँ ।

आयशा शाक्य
यो विश्वकपमा राम्रा-राम्रा टोलीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूको खेल हेर्दा जसले पनि विश्वकप जित्न सक्ने देखिन्छ । विश्वकपको उपाधि फुटबलका शक्तिराष्ट्र ब्राजिल, इंग्ल्यान्ड, स्पेन, इटाली र जर्मनीकै वरिपरि घुम्ने भए पनि म यो विश्वकप पोर्चुगलले जितेको हेर्न चाहन्छु । पोर्चुगलका विश्वचर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो मलाई मनपर्ने खेलाडी हुन् । उनको खेलमा जादु छ । समयको उचित फाइदा उठाउन सक्ने र खेललाई जुनसुकै बेलामा अर्को दिशामा मोड्न सक्ने उनको क्षमताबाट म निकै प्रभावित भएको छु । तसर्थ खेलमा जे पनि हुनसक्छ भन्ने मान्यता राख्नेहरूका लागि पोर्चुगल एउटा राम्रो विकल्प पनि हो । उसले जुनसुकै बेलामा पनि चमत्कार देखाउन सक्ने भएकोले म त पोर्चुगलले जित्ने कुरामा विश्वस्त छु । अर्को कुरा मलाई पोर्चुगलको रातो र हरियो रंगको ड्रेस एकदमै मनपर्छ । यो विश्वकपको सम्भावित विजय टोलीमा पोर्चुगलको नाम त्यति चर्चामा नआए पनि मलाई विश्वास छ, यसपटक पोर्चुगलले बाजी मार्नेछ । रोनाल्डोले नामअनुसार प्रदर्शन गर्नेछन् ।

w स्वप्निल पुरी
यो विश्वकप ब्राजिलले जित्ने कुरामा कुनै शङ्का छैन । ब्राजिल यो विश्वकपको पनि प्रमुख दाबेदार भएकोले ब्राजिलले जित्ने कुरामा म ढुक्क छु । सबै महादेशमा विश्वकपको उपाधि जितिसकेको ब्राजिलले दक्षिण अफि्रकामा पनि विश्वकप जितेर अर्को कीर्तिमान कायम गर्नेछ । पाँचपटक विश्वकप जितिसकेको ब्राजिलले दक्षिण अफि्रकाका छैटौँपटक विश्वकप जितेर डबल ह्याटि्रक गर्नेछ । अहिले पनि ब्राजिलको खेल विश्वस्तरीय भएकोले उसले यो विश्वकपमा पनि चमत्कार देखाउनेछ । अझ ब्राजिलको टिममा मलाई मनपर्ने काका र रोविन्होजस्ता विश्वकै उत्कृष्ट खेलाडीहरू भएकाले ब्राजिलले आफ्नो पुरानो प्रदर्शन दोहोर्‍याउनमा कुनै कसर बाँकी राख्ने छैन । म ब्राजिलको अन्धभक्त र्समर्थक भएकोले ब्राजिललाई जिताउन र प्रोत्साहनको निम्ति ब्यानर, झन्डा र टिर्सट किनेर ब्राजिलका खेलहरू हेर्ने योजना बनाएको छु । विश्वकप ब्राजिलको पेवा हो । उसलाई कमजोर आँक्नु भनेको दुस्साहस गर्नुसरी हो । बाघ भनेको बाघ नै हुन्छ, हेर्दै जानुस् बाघले झम्टन थालेपछि के-के हुन्छ ।