सञ्जालमा भ्रम फैलाउनेहरूका कारण अभिव्यक्ति स्वतन्त्रता जोखिममा

सञ्जालमा भ्रम फैलाउनेहरूका कारण अभिव्यक्ति स्वतन्त्रता जोखिममा


हामीकहाँ केही समय यता समाजिक संजालमा भ्रामक जानकारी र ‘हेट स्पीच’ को ब्यापक प्रयोग भइरहेको छ । कुनैपनि लिङ्ग, धर्म, समूदायलाई भड्काउने, एकार्काको सद्भाव मेट्न खोज्ने अभिब्यक्ति ‘हेट स्पीच’ हो । शब्द बोलेर, लेखेर, दृष्यबाट अरुमा डर-त्रास, घृणा पैदा हुन्छ, हिंसा महसूस हुन्छ र भड्किन्छ भने त्यसलाई ‘हेट स्पीच’ मान्नुपर्ने हुन्छ । कसैलाई चोट पुऱ्याउने तथा सम्मान र आत्मसम्मानमा आँच पुऱ्याउने अभिब्यक्ति हेट स्पीच हो । हेट स्पीच र आलोचना फरक कुरा हुन् । आलोचनामा सुधारको अपेक्षा हुन्छ, हेट स्पीचमा घृणा फैलाउने उद्देश्य हुन्छ, आलोचना रचनात्मक र तार्किक हुन्छ, हेट स्पीचमा घृणा हुन्छ । आलोचनामा सुधारका लागि सुझाव दिइन्छ, हेट स्पीच ‘हुँदैन’ भन्ने बाट सुरु भइ अनेक गाली गलौजपछि ‘हुँदैन’मै टुङ्गिन्छ । किन हुँदैन ? भन्ने तर्क खासै हुँदैन । समाजमा हेट स्पीचको प्रयोग हिजो पनि थियो । सुन्नै गाह्रो हुनेगरी मानिसहरूबीच एकार्कामा गालीगलौजहरू हुने गर्थे तर ती सम्बन्धित ब्यक्तिहरू र समूहमा मात्रै सीमित हुन्थे तर अहिले विगतमा केही ब्यक्ति या समूहमा सीमित हुने गरेका अभिब्यक्तिहरू सामाजिक संजालमार्फत सर्वब्यापी हुने गरेका छन् ।

अहिले केही समययता पत्रकार, साहित्यकार, कलाकारलगायत मुलुकका विभिन्न बिधामा रहेर आ-आफ्नो क्षेत्रमा कुनै न कुनै योगदान पु¥याएका ब्यक्तिको नाम र फोटो राखेर विदेशी पैसा खायो भनी ब्यापक प्रचार गरिएको छ । कसले, कहाँबाट, कहिले, कसरी, के कामका लागि, कति पैसा भन्ने बारेमा कहीँ उल्लेख नगरी यिनीहरू विदेशी दलाल भनेर अपमान गरिरहेको अवस्था छ । कुनैपनि नेपालीको देशभक्तिमाथि प्रश्न गर्ने अधिकार देशद्रोहको ठुलै प्रमाण नभटेसम्म कसैलाई पनि छैन । कसैले लिएको फेलोसीपमाथि समेत हास्यास्पद तरिकाले प्रश्न उठाउँदै ट्रोल गरिएको छ । विभिन्न विधामा फेलोसिप खुलेको छ भने कसैले निवेदन हाल्नु, प्रतिस्पर्धा गर्नु र फेलोसिप पाउनु सामान्य कुरा हो । विद्वताको आधारमा कतिले प्रतिस्पर्धा नगरी पनि फेलोसिप, स्कलरसीप या लेखनवृत्ति प्राप्त गर्न सक्छ । विभिन्न मुलुकले यसप्रकारका फेलोसीपहरू दिइरहेका हुन्छन् । लेखनवृत्ति या फेलोसिप लिँदा देशको इज्जत घट्ने नभइ बढ्नेचाहिँ हुन्छ । विभिन्न देशका मानिसहरूले भाग लिएको प्रतिस्पर्धामा नेपालीले लेखनवृत्ति पाए भने सम्बन्धित ब्यक्तिसँगै देशको नाम पनि आइरहेको हुन्छ । त्यसैले यस्ता कुरामा कसैले पनि ट्रोल गरे भन्दैमा ह्युमिलेट हुनु आवश्यक छैन । पाएसम्म बढीभन्दा बढी लेखनवृत्ति मुलुकमा ल्याएर सिर्जनात्मक मानिसहरूलाई सहभागी बनाउँदा राम्रो हुन्छ ।

हामीमध्ये धेरैले बिहान-बेलुका हातमुख जोड्न र घरायसी ब्यवहार धान्नका लागि घोटिनु परेका कारण भनेजस्तो सिर्जना गर्न पाएका छैनौँ । आफूले कमाएर जिन्दगी धान्नु नपर्दो हो त यो पङ्क्तिकारलगायत धेरैले थप राम्रा-राम्रा सिर्जनाहरू सार्वजनिक गर्न सक्थे जस्तो धेरै अघिदेखि लागेको हो र यो कुरा लेखेको पनि हो । लेखनवृत्तिको अर्थ कसैको पनि सिर्जनामा हस्तक्षेप होइन, आर्थिक सहजीकरण मात्रै हो । विश्वमा त्यस्ता धेरै भाग्यमानी लेखकहरू छन्, जसले लेखनवृत्ति पाएकै कारण ‘फूल टाइम लेखक’ भएर लेख्न पाएका थिए । एक/दुई वटा कृति चर्चित भएपछि त उनीहरू आफै धान्न सक्ने भइहाल्छन् । तर हाम्रो देशमा यसप्रकारका लेखनवृत्ति कार्यक्रम ज्यादै न्युन छन्, छँदै छैनन् भने पनि हुन्छ ।

मानिस भएर जन्मिएपछि हरेक कुरामा प्रतिक्रिया दिनैपर्ने झैँ गरी हामी सामाजिक संजालमा टिकाटिप्पणी गरी रहेका हुन्छौँ । मैले बोलेका, लेखेका कुराले अरुलाई के प्रभाव पाऱ्यो वा असर गऱ्यो होला ? मैले कतिलाई चित्त दुखाएँ या घृणा फैलाइरहेको छु कि ? भन्ने बारेमा हामी खासै सोच्दैनौँ । कसैलाई चोट पुऱ्याउन ढुंगामुढा गरिरहनु पर्दैन, हतियार चलाउनु पर्दैन, बोली र शब्दहरू नै काफी हुन्छन् । अरुलाई दोषी देखाएर आफू नैतिकवान बन्न खोज्नेहरूको सङ्ख्या हामीकहाँ ठुलो छ । कतिपय अवस्थामा विषयकेन्द्रित आलोचना आवश्यक हुन्छ । तर, नकरात्मक भावना र आलोचनात्मक दृष्टिकोण फरक कुरा हुन् । ‘क्रिटिकल’ हुनु र ‘नेगेटिभ’ हुनुबीचको दूरी निकै लामो छ । आफूले बोलेको, लेखेको कुराले के सन्देश दिन्छ भन्ने कुरामा सचेतता र आफ्ना अभिब्यक्तिप्रति आफैं जिम्मेवार हुनु आवश्यक छ । हाम्रा सोचहरू हाम्रो दिमागमा रहुञ्जेल हाम्रा हुन्, सार्वजनिक गरेपछि तिनले सकरात्मक, नकरात्मक दुवै बाटो तय गर्न सक्छन् । तिनले ब्यक्ति र समाजमा हिंसा फैलाउने काम पनि गर्न सक्छन् । मिडिया या सोसियल मिडिया एउटा माध्यम मात्रै हुन्, सोच र अभिब्यक्ति त हाम्रा हुन् । आफ्ना अभिब्यक्तिको उत्तरदायित्व हामी आफैले लिनुपर्छ । के बोल्ने, के लेख्ने ? हामी स्वतन्त्र छौँ तर स्वतन्त्रतामा उत्तरदायित्व सधै जोडिएर आउँछ ।

सर्वसाधारणले दिने प्रतिक्रियाले वरिपरिको माहौललाई मात्र प्रभाव या असर गरेपनि सार्वजनिक ब्यक्तित्वका बोलीले ठुलो सङ्ख्यामा मानिसहरू प्रभावित भइरहेका हुन्छन् । त्यसैले सार्वजनिक जीवनमा भएकाहरूले अभिब्यक्ति दिँदा थप संवेदनशील हुन आवश्यक हुन्छ । धुलो धुवाँको कारण वातावरणमा असर परेजस्तै मानिसले बोल्ने या लेख्ने नकरात्मक कुराले मानसपटल प्रदुषित गर्छ भनिन्छ । प्रदुषितमात्र गर्दैन यदि विषय र अवस्था संवेदनशील छ भने हिंसा भड्काउन मद्दत पनि गर्छ ।

अहिले सामाजिक संजालमा मानिसले आक्रोश पोख्दा ‘पख तिमीहरूलाई’ भन्ने सन्देश जाने गरी हाउभाउ पनि गरेको देखिन्छ । त्यस्ता हाउभाउ सदृष्य बाहिर ल्याउनका लागि टिकटक, रिल र युटुबको प्रयोग भइरहेको छ । अक्षरमात्र नभइ मानिस नै देखिने माध्यममा आउँदा या एकार्कामा भेटेर कुरा गर्दा मुखले मात्र बोलेझैँ लागेपनि हाम्रो सम्पूर्ण शरीरले विभिन्न हाउभाउबाट संचार गरिरहेको हुन्छ । हाम्रा बोली, वचन मात्र होइन बडी ल्यांग्वेज र हाउभाउ पनि हिंसात्मक र अहिंसात्मक हुन्छन् । अहिंसात्मक संचारका प्रवद्र्धक मार्सल रोजेनवर्गका अनुसार, ५५ प्रतिशत संचार हाम्रो शारीरिक हाउभाउले गरिरहेको हुन्छ । ३८ प्रतिशत संचार हामीले बोल्ने आवाजले प्रवाह गरि रहेको हुन्छ । शब्दहरूको प्रयोगचाहिँ हामीले जम्मा ७ प्रतिशत गर्ने रहेछौँ । मार्सलले ६० को दशकमा द्वन्द्व समाधानका लागि अहिंसात्मक संचारको सिद्धान्त विकास गरेर प्रयोगमा ल्याएका थिए ।

कुनै बेला थियो मानिसहरू आफ्नो मनमा लागेको कुरा, ब्रम्हले देखेको कुरा बोल्न, अभिब्यक्त गर्न पाउँदैन थिए । राणाकालमा ‘मकैको खेती’ पुस्तक लेखेवापत सुब्बा कृष्णलाल अधिकारी जेल जानुपऱ्यो । राणा शासनप्रतिको आफ्ना असन्तुष्टीलाई साहित्यिक रुपमा उल्लेख गरेको भनी जेल हालिएको थियो । भनिन्छ, जेलमा बस्दा उहाँलाई मकैबाहेक अन्य कुनै पनि खानेकुरा खान दिइएको थिएन । नौ वर्ष कठिन समय बिताएपछि जेलमै उहाँको मृत्यु भएको थियो । अभिब्यक्ति स्वतन्त्रता कुण्ठित भएका बेला बोल्न पाउनु, साशकको आलोचना गर्नु कति ठुलो कुरा थियो भन्ने इतिहासका विभिन्न कालखण्डमा जनतामाथि भएका दमन र हत्या साक्षी छन् । शहीद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले राणाहरूको विरोध गरेवापत फाँसी नै चढ्नुपऱ्यो । पञ्चायतकालमा पनि आफ्ना विचार अभिब्यक्त गरेवापत धेरै मानिसहरूले आफ्नो उर्वर समय जेलमा बिताए ।

हरेक नागरिकलाई अभिब्यक्तिको स्वतन्त्रता हुनुपर्छ भन्ने आवाजका लागि हाम्रा अग्रजको कठिन सङ्घर्षको पृष्ठभूमि जोडिएको छ । नेपाली नागरिकले अभिब्यक्तिको स्वतन्त्रता सहजै प्राप्त गरेका होइनन् । तर हेर्दाहेर्दै समयक्रममा यस्ता दिनहरू आए कि अभिब्यक्ति स्वतन्त्रताको नाममा घृणास्पद अभिब्यक्ति अर्थात् ‘हेट स्पीच’ ब्यापक हुन थाल्यो । जसलाई न्युनीकरण गर्नका लागि अभिब्यक्ति स्वतन्त्रताको वकालत गर्नेहरूले नै यसका सीमा या दायराका बारेमा चर्चा गर्नु पर्ने अवस्था आएको छ । अहिले सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रियसभामा पेश गरेको छ । विधेयकमा भएका विभिन्न प्रावधानहरूमा मित्थ्या वा भ्रामक विषयबस्तु र ‘हेट स्पीच’का सम्बन्धमा पनि स्पष्ट उल्लेख गरिएको छ । सामाजिक सञ्जालसम्बन्धी विधेयकमा सुधार गर्नुपर्ने कुरा धेरै छन् । विभिन्न विषयमा दिइने भ्रामक जानकारी र त्यस्तो भ्रामक जानकारीलाई लिएर प्रयोग गरिने हेट स्पीचका कारण अहिले हामीले वर्षौं लडेर ल्याएको अभिब्यक्ति स्वतन्त्रता जोखिममा पर्ने अवस्था सिर्जना भएको हो ।