८३ प्रतिशत ‘युएसएआईडी’ कार्यक्रम रद्द गर्दै अमेरिका

८३ प्रतिशत ‘युएसएआईडी’ कार्यक्रम रद्द गर्दै अमेरिका


अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी)का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गरिरहेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जानकारी दिएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गरे, जसमा उनको प्रशासनलाई विदेशमा खर्चको मूल्याङ्कन गर्न समय दिनको लागि सबै अमेरिकी वैदेशिक सहायता रोक्न माग गरिएको थियो । ‘६ हप्ताको समीक्षापछि हामी आधिकारिक रूपमा युएसएआईडीका ८३ प्रतिशत कार्यक्रम रद्द गर्दैछौं’, विदेशमन्त्री रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख रेका छन् ।

‘अहिले रद्द गरिएका पाँच हजार २०० सम्झौतामा अर्बौं डलर खर्च गरिएको थियो, जुन संयुक्त राज्यको मूल राष्ट्रिय हितहरूसँग मेल खाँदैन (र केही अवस्थामा हानि पनि पुऱ्याएको) थियो’, उनको भनाइ छ ।

रुबियोले विशेषगरी सरकारी विभागहरूमा लागत कटौती र रोजगार कटौती गर्ने अभियानमा अरबपति एलोन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डीओजीई) लाई धन्यवाद दिएका छन् ।

ज्ञातव्य छ, ट्रम्प र उनका सहयोगीहरूले विदेशी सहयोग बेकार भएको र अमेरिकी हितमा नरहेको तर्क गरेका छन् । साथै, सहायता कटौतीले कमजोर मानिसहरूको जीवन जोखिममा पार्न सक्ने सहायता समूहहरूले तर्क गरेका छन् ।