देश र जनताका समस्यामा संसद् केन्द्रीत नभएको सांसद चौधरीको गुनासो

देश र जनताका समस्यामा संसद् केन्द्रीत नभएको सांसद चौधरीको गुनासो


नेकपा एमालेकी सांसद भगवती चौधरीले संघीय संसद देश र जनताका समस्याहरुमा केन्द्रीत हुनुपर्नेमा अनावश्यक आरोप प्रत्यारोपमा अल्झिएको औंल्याएकी सम्मानित संसदमा अनर्गल प्रचारबाजी हुनु दुखःद भएको उनको भनाइ छ ।

प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीले संसदलाई आरोप-प्रत्यारोपको थलो बनाउन नहुनेमा जोड दिएकी छन् । पछिल्लो समय मुलुकले व्यहोरिरहेको बेरोजगारी, युवा पलायन, महिलाहिंसा लगायतका विषयहरु संसदमा प्रवेश नपाउँदा जनताका विषयहरु गौण भइरहेको उल्लेख गर्दै उनले सांसद चौधरीले राजनीतिक दलहरुलाई देश र जनताका पक्षमा एकबद्ध भएर अगाडि बढ्न अनुरोध गरिन् । ‘हिंसामुक्त समाज, बेरोजगारीको अवस्था, युवा पलायनको अवस्था, निराशाका विषयहरुमाथि टेवलटक गरौं, सबै पार्टीहरु एकजुट भएर नेपालको रणनीति कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गरौं’, सांसद चौधरीले भनिन् ।

विज्ञान, प्रविधि र एआईको जमानामा नेपाललाई त्यसतर्फ डोहोऱ्याउन, युवाहरुलाई स्वदेशमै टिकाउने सवालमा बहस र छलफल हुन नसकेको उनको भनाइ छ । कानुनले महिलाहरुलाई कार्यकारी भूमिका सुनिश्चित गरेपनि व्यवहारतः लागू हुन नसकेको उनले जिकीर गरिन् ।

संसदमा वर्तमान सरकारका प्रमुखलाई हिटलर भनेकोप्रति पनि सांसद चौधरीले आपत्ति जनाइन् । राजसँस्था फर्काउने भन्दै सडक तताउने कार्य गलत भएको तर्क गर्दै उनले संवैधानिक तवरबाट जो-कोही आएपनि फरक नपर्ने धारणा राखिन् । ‘श्री ५ सरकारदेखि लिएर श्री ३ महाराजहरु पनि फर्काउने हो कि ? बाइसे चौबिसे पनि आउने हो कि ? जे-जस्तो कुरा भएपनि संविधानले जे भन्छ त्यही भए फरक पर्दैन’, उनले भनिन् ।