परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार (२९ फागुन) अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उहाँ आज नयाँ दिल्ली पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री डा. राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले स्वागत गर्नुभएको थियो ।

मन्त्री डा. राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ)द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुनुहुनेछ ।

मन्त्री डा. राणाले यही मार्च १७ मा उदघाटन हुने सो कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ ? नामक फरक-फरक सत्रमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम छ । साथै उहाँले यसैअन्तर्गत ‘डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभ’लाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

यस कार्यक्रमका दौरानमा मन्त्री डा. राणाले भारतका विदेशमन्त्री डा. एस जयशङ्कर तथा अन्य मित्रराष्ट्रका समकक्षीहरुसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । सो राइसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरुको सहभागिता रहने आयोजक संस्था ओरआएफले जनाएको छ ।