समाजवादी मोर्चाले नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने

समाजवादी मोर्चाले नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने


समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको १२औँ केन्द्रीय कार्यसमिति बैठकले शनिबार (२ चैत) छलफल कार्यक्रम गर्ने निर्णय गरेको हो ।

मोर्चाले शनिबार नै पत्रकारसँग पनि अन्तर्क्रिया गर्ने भएको छ । संसदवादी दल र संसद् बाहिर रहेका राजनीतिक दल र नेतृत्वसँग राजनीतिक संवाद अघिबढाउने मोर्चाको निर्णय छ । ‘राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा एवं समाजवादतर्फको यात्रालाई दृढतापूर्वक अघि बढाउने वातावरण बनाउन बृहत् राजनीतिक पहल लिने निर्णय गरेको छ’, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।

बैठकले यही चैत १५ गतेका लागि तय भएको विरोधसभा र जनप्रदर्शनलाई सफल बनाउने निर्णय गरेको उनले जानकारी दिए ।

बैठकमा देशको राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको जानकारी दिँदै उनले राजतन्त्र पक्षधरको प्रदर्शनले मुलुकको राजनीतिक परिस्थिति झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको बताए । उनले प्रतिगामी कदमलाई असफल बनाउने निर्णय बैठकले गरेको जानकारी दिए ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत सहभागी थिए ।

photo: rss