जर्मनीको बर्लिननजिकै रहेको टेस्लाको कारखानाले बिरामी बिदामा रहेका कामदारलाई तलब दिन इन्कार गर्नेलगायतका गलत कार्य गरेको जर्मनीको एक प्रमुख युनियनले आरोप लगाएको छ ।
अर्बपति एलन मस्कको नेतृत्वमा रहेको टेस्लाले कर्मचारीको मेडिकल प्रमाणपत्रमाथि प्रश्न उठाउँदै आएको र पछि ‘तलब रोक्का गरिएको’ आइजी मेटल युनियनले आरोप लगाएको हो ।
टेस्लाले कथित ‘ओभरपेमेन्ट’को कारण ‘ऋण’मा फसेको हवाला दिँदै कहिलेकाहीँ उनीहरूलाई जागिरबाट अवकाश दिनेगरी पारस्परिक सम्झौतामा हस्ताक्षर गर्न प्रोत्साहित गर्नेगरेको पाइएको उक्त युनियनको आरोप छ।
जर्मनीको टेस्लाका लागि यो आरोप निकै कठिन समयमा आएको छ, जहाँ कम्पनीले जनवरीदेखि कारको बजारमा कारोबारको हिस्सा गुमाइरहेको छ ।
जर्मनीमा हालै सम्पन्न संसदीय चुनावमा अति दक्षिणपन्थी एएफडी पार्टीलाई समर्थन गरेको भन्दै मस्कको आलोचना भइरहेको छ भने बर्लिनमा टेस्लाका चार वटा कारमा बिहीबार रातिदेखि शुक्रबारसम्म आगलागी भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
आईजी मेटलका अनुसार ११ हजारभन्दा बढीलाई रोजगारी दिने कारखानामा काम गर्ने कामदारले विवादमा युनियनको सहयोग लिने औसतभन्दा २१ गुणा बढी सम्भावना छ ।
प्रतिक्रिया