एनआरएनए एकता महाधिवेशन : उच्चस्तरीय समितिद्वारा निर्वाचन आयोग गठन

एनआरएनए एकता महाधिवेशन : उच्चस्तरीय समितिद्वारा निर्वाचन आयोग गठन


सर्वोच्च अदालतको परमादेशअनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्रमुख निर्वाचनआयुक्त र सेवानिवृत्त मेजर डम्मर घले एवम् अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहनेगरी आयोग गठन गरिएको हो ।

नेपालको कानूनी क्षेत्रमा लामो अनुभव हासिल गरेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे डेमोक्र्याटिक लयर्स एसोसियशनका पूर्वअध्यक्ष हुन् भने ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाशप्राप्त मेजर डम्मर घले एनआरएनए युकेका पूर्वअध्यक्ष हुन् । बेलायतमा बसोबास गर्ने उनले हाल पोखरामा आफ्नै होटेल व्यवसाय संचालन गर्दै आएका छन् । त्यस्तै, अधिवक्ता आशिष उप्रेती युवा कानून व्यवसायी हुन् ।

लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेशअनुरुप परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आउँदो मे ३-५, २०२५ मा काठमाडौंमा एकताको महाधिवेशन गर्न लागिएको छ । संस्थाको लोकतान्त्रिकरण तथा सम्पूर्ण सदस्यहरुलाई अधिकारसम्पन्न गर्नेगरी निश्पक्ष र पारदर्शीरुपमा निर्वाचन सम्पन्न गराउन यो निर्वाचन समितिलाई सहयोग गर्न पनि सम्बन्धित सबैलाई उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले आग्रह गरेका छन् ।

उच्चस्तरीय समितिले यही ३१ मार्च २०२५ भित्र https://nrnahlc.com/membership-registration/ मा गएर नयाँ सदस्यताको लागि आवेदन दिन वा आफ्नो सदस्यता नवीकरण गराउन पनि आग्रह गरेको छ।

समितिले एनआरएनएका सबै पंजीकृत सदस्यहरुले काठमाडौंमा उपस्थित भएर तोकिएको शुल्क तिरी डेलिगेट्स बन्न पाउने व्यवस्था गरिएको पनि जनाएको छ।