ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने

ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार (१७ मार्च) कुरा गर्ने योजना रहेको बताएका छन् ।

अमेरिकी अधिकारीहरूले साउदी अरबमा भएको वार्तापछि वासिङ्टनले तीनवर्षे युद्ध रोक्ने प्रस्ताव गरेको केही हप्ताभित्रै युक्रेन र रुसबीच युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका थिए।

‘मलाई लाग्छ कि हामी युक्रेनी भूमि, विद्युत् गृहको बारेमा कुरा गर्नेछौँ’, ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँगको कुराकानीमा भने, ‘मलाई लाग्छ युक्रेन र रूस दुवै पक्षबीच यस विषयमा धेरै छलफल भइसकेको छ। हामी पहिलो पटक यसको बारेमा कुरा गर्दैछौँ र केहि जमिनहरूमाथिको दावीबारे टुङ्गो लगाउने बिषयमा छलफल गर्दैछौँ ।’

वासिङ्टन र किएभका युरोपेली सहयोगीहरूले मस्कोलाई युद्ध रोक्न दबाब दिइरहेका छन् तर पुटिनले यसबारे कुनै स्पष्ट जवाफ दिएका छैनन् । बरु शर्तहरूको एक शृङ्खला सूचीबद्ध गर्दै अमेरिकी प्रस्तावमाथि ‘गम्भीर प्रश्नहरू’ उठाएका छन् ।

केही दिनअघि पुटिनसँग केही घण्टा भेटवार्ता गरेका ट्रम्पका दूत स्टिभ विटकोफले सीएनएनसँगको कुराकानीमा भनेका थिए, ‘दुई राष्ट्रपतिबीच यो साता निकै राम्रो र सकारात्मक छलफल हुनेछ ।’

उनको भनाइ थियो, ‘सायद, ट्रम्पले वास्तवमै आगामी हप्ताहरूमा कुनै न कुनै प्रकारको सम्झौता हुने अपेक्षा गर्नुभएको छ र यो आवश्यक मुद्दा हो भन्ने मेरो पनि विश्वास हो।’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रेमलिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका समय ट्रम्प र पुटिनबीच वार्ता हुनेछ । कुनै पनि युद्धविराममा सहमत हुनुअघि मस्कोले पहिले ‘युद्धभूमिमा आफ्नो स्थिति सुधार्न’ चाहेको जेलेन्स्कीले बताएका छन् ।

यसअघि मस्कोले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्ना रुसी समकक्षी सर्गेइ लाभरोभलाई गत महिना साउदी अरबमा भएको अमेरिका–रुस शिखर सम्मेलनमा भएका ‘समझदारी कार्यान्वयनका ठोस पक्ष’बारे छलफल गर्न फोनमार्फत् कुराकानी भएको बताएका थिए ।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले आक्रमण सुरु गरेयता अमेरिका र रुसबीच फेब्रुअरीमा भएको रियाद सम्मेलन पहिलो उच्चस्तरीय बैठक थियो । बैठकपछि ‘विदेशमन्त्री लाभरोभ र उनका अमेरिकी समकक्षी रुबियोबीच सम्पर्कमा रहने सहमति भएका’ रुसी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी ब्रुसले शनिबार दुवै पक्षले युक्रेनका विषयमा ‘आगामी कदमबारे छलफल’ गरेको र संयुक्त राज्य अमेरिका र रुसबीच सञ्चार पुनर्स्थापनाका लागि काम जारी राख्न सहमत भएको बताएका छन् ।

बेलायतले युक्रेनबारे भर्चुअल शिखर सम्मेलन आयोजना गरेको केही घण्टापछि लाभरोभ-रुबियोबीच कुराकानी भएको थियो, जसमा प्रधानमन्त्री केइर स्टार्मरले पुटिनले युद्धविरामलाई अघि बढाउन नचाहेको र यो वा त्यो बहानामा समय खेर फाल्ने काम गरिरहेको बताउनुभएको थियो ।

‘रुसले वार्ता गर्ने त भनेको छ वार्ताका लागि उसको पहल पर्याप्त छैन’, स्टार्मरले भने- ‘युक्रेनमाथि हुने रुसी बर्बर आक्रमणलाई सदाका लागि रोक्नुपर्छ।’

आइतबार किएभले मस्कोले युक्रेनका नौ वटा क्षेत्रमा इरानमा निर्मित ९० वटा शाहेद ड्रोन प्रक्षेपण गरेको बताएको थियो ।

यसै साताको सुरुमा युद्धविरामबारे प्रतिक्रिया व्यक्त गर्दै पुटिनले यो पहलले मुख्यतः युक्रेनलाई फाइदा पुग्ने भन्दै वार्ता पहलमाथि ‘गम्भीर प्रश्न’ उठाएका थिए ।

युक्रेनको दक्षिणी र पूर्वी भूभागमा कब्जा जमाएको रूसले युद्ध मोर्चाका केही क्षेत्रमा गति लिइरहेका बेला यो प्रस्ताव आएको उनको दाबी थियो ।

रुसले आफ्नो कुर्स्क क्षेत्रको केही भागबाट युक्रेनी सेनालाई पछि धकेलेको छ । उक्त क्षेत्र किएभका लागि भविष्यमा हुने कुनै पनि वार्तामा सम्भावित ‘बार्गेनिङ’ शक्तिका रूपमा रहने युक्रनको विश्वास रहेको छ ।

पुटिनले मस्कोको चासोका विषयमा ट्रम्पसँग फोनवार्तामा छलफल गर्न चाहेको आइतबार बताएका थिए ।

file photo