नौ महिनापछि पृथ्वीमा फर्किए अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर

नौ महिनापछि पृथ्वीमा फर्किए अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर


गत वर्ष अर्थात् सन् २०२४ को जुन महिनामा आठ दिनको लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिनापछि पृथ्वीमा फर्कन सफल भएका छन् । स्पेसएक्सको ड्रयागन क्याप्सुलमा सवार अन्य दुई अन्तरिक्ष यात्रीसँगै उनीहरू आज (१९ मार्च) पृथ्वीमा फर्किएका हुन् ।

उनीहरूलाई पृथ्वीमा फिर्ता ल्याउने भनिएको बोइङको स्टारलाइनर अन्तरिक्ष यान बिग्रिएपछि सुनिता र बुचले धर्तीमा फर्कन यति लामो समय पर्खनु परेको हो । उनीहरूले अन्ततः एलोन मस्कको कम्पनी स्पेसएक्सको ड्र्यागन क्याप्सुललाई फ्लोरिडा (अमेरिका)को समुन्द्री तटमा सुरक्षित रूपमा अवतरण गरेका छन् ।

अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा पुग्न १७ घण्टा लामो समय लागेको बताइएको छ । नेपाली समय अनुसार बुधबार बिहान सवा तीन बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तटनजिकै समुद्रमा खसेको थियो । अन्तरिक्षयान फर्किरहेको बेला आकाश पूर्ण रूपमा सफा र नीलो थियो ।

पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ड्र्यागन क्याप्सुल प्रतिघण्टा १७ हजार माइलको गतिमा यात्रा गरिरहेको थियो, तर केही मिनेटको अवधिमा द्रुत गतिमा सुस्तता आएको थियो ।

वायुमण्डलमा प्रवेश गरेपछि, अन्तरिक्ष यानको प्लाज्मा कभरको तापक्रम १९२७ डिग्री सेल्सियस पुग्यो, तर प्लाज्मा कभर जहाजमा रहेका अन्तरिक्ष यात्रीहरूलाई उक्त मात्राको तापबाट जोगाउन सक्षम सावित भयो ।

अन्तरिक्ष यात्री सवार क्याप्सुल समुन्द्रमा अवतरण गरेलगत्तै पानीमा क्याप्सुलवरिपरि जिज्ञासु डल्फिनहरूको समूहले घेरेको थियो । घटनास्थलमा उपस्थित रिकभरी टोली तत्काल डुङ्गामार्फत क्याप्सुलमा पुगेर प्यारासुट हटाएका थिए । यसपछि, स्पेसएक्सको ‘रिकभरी बोट’ आइपुग्यो, जो अवतरणस्थलबाट दुई माइल टाढा रोकिएको थियो । अनि डोरीको सहायताले क्याप्सुललाई सुरक्षा डुङ्गामा चढाइयो ।