रैथाने खानेकुरा तथा कृषि प्रवर्द्धनका लागि धादिङमा महोत्सव हुने

रैथाने खानेकुरा तथा कृषि प्रवर्द्धनका लागि धादिङमा महोत्सव हुने


  • विकाश रौनियार, धादिङ

धादिङको गजुरी गाउँपालिका-५ स्थित गलौँदी खेलमैदानमा ‘तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव-२०८१’ आयोजना हुने भएको छ । जिल्लाभित्र उत्पादित कृषि उपजहरुको बजारीकरण गर्ने, कृषि उद्यमीहरुलाई प्रोत्साहन गर्ने, पालिकाभित्र उत्पादित रैथाने खानका परिकारहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले यही चैत १४ देखि २४ गतेसम्म रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव गर्न लागिएको कार्यक्रमका व्यवस्थापक भरत बराकोटीले बताए ।

जिल्ला होटल संघ धादिङको आयोजनामा हुने यस महोत्सवको संरक्षक गजुरी गाउँपालिका रहनेछ ।

महोत्सवमा कृषि तथा प्रविधि प्रदर्शनी स्टल व्यवस्थापनदेखि कृषि प्रदर्शनी, झाँकी व्यवस्थापन, सांस्कृतिक प्रस्तुति, महोत्सवमा रैथाने खानाका परिकारहरू, कृषि उत्पादन, घरेलु तथा हस्तकला प्रवर्द्धनका गतिविधिहरू, मनोरञ्जन पार्क, सस्तो बजार, र खाना पकाउने प्रतियोगिता प्रमुख आकर्षण हुनेछन् ।

साथै, रैथाने खाना प्रदर्शनीलगायतका कार्यक्रम रहने जानकारी दिँदै बराकोटीले उक्त कार्यक्रमका लागि करिव एक करोड़ रुपैयाँ खर्च हुने अनुमान गरिएको र महोत्सवमा एक लाख जनाको प्रत्यक्ष सहभागिता रहने अनुमान गरिएको बताए ।