- द्रोण अधिकारी, भद्रपुर (झापा)
आफ्नो देशमा सुन्दर भविष्य नदेखेर अर्काको देशमा दास बन्न लाखौँ खर्चेर उतै हराउने युवाको जमात बढिरहेको नेपाली समाजमा खेतबारीमा रमाएर जीवन चलाउने युवा पाउन मुस्किल परिरहेको समयमा उमेरले ३० वर्षमा दौडिरहेका भद्रपुर-१० चन्द्रगढीका युवा नारायण सुवेदी बिहान उज्यालो भएदेखि बेलुका साँझ नपरुञ्जेल खेतबारीमै पसिना बगाइरहेको भेटिन्छन् ।
आफ्ना उमेर समूहका दौँतरी विदेशमा दौडिरहेको वर्तमानमा सुवेदीलाई भने आत्मादेखि नै यो देश र समाजको मायाले नछोडेपछि परिवार धान्न यहीँको माटोमा पसिना बगाउन भ्याइ-नभ्याइ छ ।
भद्रपुर १० चन्द्रगढीको कलवलगुरी प्रशिक्षण केन्द्र पूर्वपट्टि रहेको आफ्नै जमीनमा वि.सं. २०७५ सालदेखि गतिशील कृषि फर्म सञ्चालन गरिरहेका सुवेदीले लहरे जातका तरकारी खेती तथा कुखुरा र माछापालन गरिरहेका छन् ।
अनुदानका लागि कागजी कृषि पेशा बनाएर खाइपल्केकाहरूका लागि चुनौती बन्दै वास्तविक कृषि कर्म गरिरहेका नारायणलाई आफ्नै पसिनामा रमाउने शोख छ । उनी कागज मिलाएर खाने प्रवृत्तिविरूद्ध सबै सचेत नागरिक एकजुट भए नेपालको कृषि समुन्नत हुने धारणा राख्छन् ।
मासिक सरदर ५० हजार कृषिमार्फत कमाइ गरिरहेका सुवेदीले तरकारी खेतीमा रसायन कम गर्न मलका लागि कुखुरा समेत पाल्ने गरेका छन् । पाँच जनाको परिवार धान्न कृषिलाई मूल पेशा बनाएका उनी समाज सेवा र राजनीतिक गतिविधिमा समेत योगदान गरिरहेको भेटिन्छन् । नेपालको उर्वर माटो बाँझिदै गएकोमा चिन्ता पाल्ने सुवेदी राज्यले ठोस नीति लिएर कृषि पेशाको संरक्षण गरे धेरै युवा युवती माटोमा भविष्य खोज्न लाग्ने वातावरण बन्ने बताउँछन् ।
एक दशकअगाडि करिव दुई वर्ष खाडी मुलुकमा कठोर श्रम गर्न पुगेका सुवेदीलाई त्यहाँ पाउने जति पारिश्रमिक आफ्नै घर–आँगनमा बसेर कमाउन सकिने आभास भएपछि परदेश नजाने निर्णयमा पुगेका थिए । सुवेदीले आफ्नो नामको एक बिगाह दुई कठ्ठा र भाडाको १० कठ्ठा जमीन गरी १–२ बिगाह क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन् । वर्षमा ३ पटक उत्पादन निकाल्ने सुवेदीको कृषि फर्ममा उत्पादन हुने काँक्रा, फर्सी, बोडी, लौक, घिरौला, सिमी लगायत सब्जीका परिकारको वजार भने चन्द्रगढी–भद्रपुरले मात्र धान्न नसक्दा विर्तामोड समेत पुग्नुपर्ने बाध्यता छ ।
आफ्ना उत्पादन आफैं बिक्री गर्न सक्ने अवस्था नरहँदा बिचौलियाका कारण न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताको सामना समेत गरिरहेका सुवेदीलाई कृषि उद्यममा लागेकोमा गौरव महशुस हुने गर्छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिने परिपाटी बस्ने हो भने सुवेदी जस्ता धेरै व्यक्ति कृषिमा आकर्षित हुने वातावरण बन्न सक्ने अनुभवन पनि उनीसित छ । नजिकको वजारमा भारतीय उत्पादनले कब्जा गर्दा टाढाको वजार धाउनु पर्ने बाध्यता सुनाउने सुवेदी सब्जी मण्डीको नाममा बिचौलिया नपोसी कृषकका उत्पादन नबिक्ने सिण्डिकेट प्रथा नहटेसम्म उत्पादक कृषकको जीवनस्तर माथि नउठ्ने सुनाउँछन् । कृषकले १० रूपैयामा बेचेको सब्जी उपभोक्ताले ५० रूपैयाँमा किन्नुपर्ने बाध्यता हटाउन सरकारी पक्ष नलागेसम्म बिचौलिया प्रथा नहट्ने सुवेदीको अनुभव छ ।
एउटा हाते ट्याक्टरको सहयोगमा निरन्तर ६ वर्षयता माटोसित रमाइरहेका नारायण सुवेदी जीवन चलाउन अर्काको देशमा श्रम-पसिना बगाउनु नपर्ने बताउँछन् । अर्काको माटोमा दास बन्नुभन्दा आफ्नै माटोमा मालिक बन्ने हिम्मत गर्ने हो भने नेपाल देशमा युवा शक्तिको अभाव नहुने बताउने सुवेदी कृषिका लागि आवश्यक मल र बिऊमा सरकारी सहयोग कम भएका कारण भारतीय कृषि उपजसित नेपालको उत्पादनले प्रतिष्पर्धा गर्न नसकेको जनाउँछन् ।
कमभन्दा कम रसायन र विषादी प्रयोग गरेर तरकारी खेती गरिरहेका सुवेदीले अनुदानको आश भने पालेका छैनन् । आफ्नै बलबुताले कृषि कर्ममा जुटिरहेका सुवेदी युवापुस्ताका लागि भने अनुकरणीय व्यक्तित्व हुन् । समाजमा निकै कम युवा शक्ति आफ्नै देशमा बसेर सेवा गर्छु र सुन्दर भविष्य निर्माणमा जुट्छु भन्ने अवस्था रहेको वर्तमानमा यहीँको माटोमा रमाउँदै सुन्दर भविष्य देखिरेहेका नारायण उदाहरणीय युवा हुन् ।
प्रतिक्रिया