✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत्र १० गते तद्अनुसार सन् २०२५ मार्च २३ तारिख आइतबार चैत्र कृष्ण नवमी तिथि पूर्वाषाढ़ा नक्षत्र वरियान योग तैतिल करण आनन्दादिमा शुभ योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः७ मा भयो र सूर्यास्त साँझ १८ः१६ मा हुनेछ ।
आजको राशिफल
मेष – अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । श्रम गरीकन उचित परिणाम वा मूल्य प्राप्त नहुन सक्छ । कमजोरीले चिन्ता बढाउने योग छ । सबल स्वास्थ्यका लागि खानपान र शारीरिक अभ्यासमा विशेष ध्यान दिनु हितकर होला । मुख्य काममा बाधा हुने योग परेकोले आजको दिन विशेष योजना थाती राख्नु उचित हुनेछ । सानातिना काममा धेरै समय अल्झनुपरे पनि मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने देखिन्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृष – शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रागत कार्यबाट विशेष लाभ होला । आश्वासन बाँड्नेहरूले आजको दिन झुक्याउने प्रयत्न गर्नेछन् । परिस्थितिले अप्ठ्यारो मोडमा लग्न सक्छ, कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । जोखिम बढेपनि बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ ।
मिथुन – सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ । साझेदारीको काम बन्नेछ भने आम्दानी बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने योग छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा होला । स्वास्थ्य सबल रहनेछ ।
कर्कट – सामाजिक कार्यमा विशेष लगाव रहने र मान–प्रतिष्ठा बढ्ने दिन छ । भाग्यबल बढ्नेछ । रोकिएको काममा सफलता मिल्ला । यात्रागत कार्य सार्थक रहला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । व्यावसायिक यात्राको सम्भावना छ । आजको दिन सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । कर्मबल बढ्नाले समग्रमा दिन उत्साहपूर्ण रहनेछ ।
सिंह – मिश्रित फलदायी समय छ । इच्छाशक्ति बढ्नुका साथै रोकिएको काम सजिलै सम्पादन हुनसक्छ । स्वास्थ्यगत रूपले आफू केही कमजोर भएको अनुभूति होला । पढाइलेखाइको दृष्टिले समय मध्यम छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । सन्तानसुख मिल्नेछ, प्रेमभाव बढ्नेछ । रसरागका क्रियाकलापमा सरिक भइएला । बौद्धिक काममा विशेष सफलता मिल्ने देखिन्छ ।
कन्या – आलस्य गर्ने बानीले केही समस्या निम्त्याए पनि मेहनतीहरूका लागि भने समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यप्राप्ति हुनेछ । तर, आजको दिन अलिक बाध्यताका काममा जुट्नुपर्ला । व्यस्तता वृद्धि हुनेछ । केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । प्रतिस्पर्धी परास्त होलान् । खर्चको मात्रा भने केही वृद्धि हुनसक्छ, नियन्त्रणको प्रयास गर्नुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला – मित्रजनको साथ-सहयोगले विशेष योजना कार्यान्वयनमा गति मिल्ने समय छ । पराक्रमका साथै यश–वर्चश्व बढ्नेछ । मुद्दा-मामिलामा पनि विजयी भइएला । उद्योग-व्यापारतर्फ सामान्य फाइदा मिल्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । तथापि, नियमित कार्यबाट धन आर्जनको योग रहेको छ । आरोग्यबल बढ्नेछ ।
वृश्चिक – साहसिक काममा आकर्षण बढ्ने समय भएपनि अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् र परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । कृषिकर्मबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा समस्या आउला । तथापि, मिहेनत र इमानदारीले परिस्थिति सम्हाल्न मद्दत गर्नेछ । बिछोडिएका मित्रजनसँग भेटघाटको योग छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।
धनु – विभिन्न भौतिक साधनहरू जुट्ने एवम् प्रशन्नता मिल्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ । ऋण र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । आफन्तसँग भने असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्नृे योग पनि छ । पतिपत्नीमा अविश्वास बढ्नसक्छ,आपसी व्यवहारमा लचकता अपनाउनुहोला । आरोग्यता रहनेछ ।
मकर – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । तथापि, रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने योग छ । विशेष ठानेर गरिएको कार्यमा सोचेको लाभ नमिल्ने सम्भावना छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । नियमित खर्चमा बढोत्तरी होला । आरोग्यबल बढ्नेछ ।
कुम्भ – प्रतिष्ठित काम गर्ने मौका मिल्ला । बौद्धिक कार्यबाट राम्रै धनलाभ हुने देखिन्छ । प्रतिभा प्रदर्शन गरी धेरैलाई प्रभावित तुल्याउन सकिनेछ । मान्यजन तथा गुरुजनको विशेष सहयोग जुट्नाले अध्ययन-अध्यापनमा प्रगति हुने समय छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ, सजग रहनुहोला । महत्वपूर्ण काम बिग्रने डरले सताउन सक्छ । तर, शुभचिन्तकहरूले साथ दिनेछन् भने विभिन्न अवसर पाइनेछ । आयबल बढ्नेछ । मित्रजनसँग जमघट र मिठो भोजन प्राप्तिको योग छ ।
मीन – कर्मबल बढ्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने दिन छ । तर, सहयोगीहरूको मात्र भरपर्दा चिताएको काम नबन्न सक्छ, ध्यान राख्नुहोला । हातमा आएको अवसर गुम्ने सम्भावना रहेकोले चनाखो रही कार्य-व्यवहार गर्नु हितकर हुनेछ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । सुख-विलास बढ्नेछ ।
प्रतिक्रिया