गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्दै कार्ययोजना निर्माण गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको सुरुआती चरणमा एयरलाइन्सलाई आकर्षित गर्न विभिन्न प्रोत्साहन कार्यक्रम लागु गरिएका र विमानस्थल सञ्चालनका लागि कार्ययोजना तयार पारेर प्राधिकरण र सम्बद्ध सबै निकायमार्फत हल गरिरहेको महाप्रबन्धक तिवारीको भनाइ छ ।
उनका अनुसार यात्रु भाडादर प्रतिस्पर्धी बनाउँदै विमानस्थलको बजार प्रवर्द्धन र गन्तव्य प्रवर्द्धनमा जोड दिइएको छ । साथै, यात्रु सुविधाका लागि श्रम, मेडिकल, तथा भिसा प्रक्रिया सहज बनाउने पहल भइरहेको छ । सबै पक्षबीच बलियो सहकार्य गरी ‘समर सेड्युल’लाई निरन्तरता दिने र विमानस्थललाई विश्वसनीय बनाउने दिशामा पहल गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।
सरकारले विमानस्थलको दिगो सञ्चालन सुनिश्चितताका लागि विभिन्न पहलकदमी लिएको छ । श्रम स्वीकृति तथा मेडिकल परीक्षण भैरहवाबाटै गरिने, भिसा सेन्टरको व्यवस्था गरिने, नेपाल नागरिक उड्डयन प्राधिकरणले उपयुक्त व्यापार रणनीति लागू गर्नेलगायत मन्त्रिपरिषद्बाट निर्णय भएको थियो ।
आरएनपी-एआर प्रणालीको कार्यान्वयन
विगतमा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस)को अभावमा खराब मौसमका कारण केही उडान स्थगित गर्नुपरेको थियो । उक्त समस्याको समाधानस्वरूप भू-उपग्रहमा आधारित ‘रिक्वार्ड नभिगेशन परफर्मेन्स-अथोराइजेशन रिक्वार्ड’ (आरएनपी-एआर) अवतरण प्रणालीको प्रस्ताव गरिएको र हाल उक्त प्रणाली कार्यान्वयनमा आइसकेको विमानस्थलले जनाएको छ । अब यस प्रणालीलाई प्रयोग गर्न सक्ने जहाज तथा प्रशिक्षित चालक दल भएको एयरलाइन्सले अवतरण गर्न सहज हुने अपेक्षा गरिएको छ ।
विमानस्थलको तथ्याङ्कअनुसारअनुसार विसं २०८१ कात्तिकदेखि नियमित उडान पुनः सञ्चालनमा आएपछि यात्रु सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । सन् २०२४ मा कुल आठ हजार १५७ यात्रु, भने सन् २०२५ को मार्च २० सम्म मात्र १३ हजार १८१ यात्रुले यो विमानस्थल प्रयोग गरिसकेका छन् । यो सङ्ख्याले उडान सुधारको संकेत देखिएको विमानस्थलको विश्वास छ ।
file photo: rss
प्रतिक्रिया