सुडानको डार्फर बजारमा सेनाको आक्रमण, सयौँको मृत्युको आशंका

सुडानको डार्फर बजारमा सेनाको आक्रमण, सयौँको मृत्युको आशंका


सुडानको पश्चिमी डार्फर क्षेत्रमा सेनाद्वारा गरिएको हवाई हमलामा सयौँ मानिसहरू मारिएको एक सुडानी युद्ध निगरानी समूहले आरोप लगाएको छ ।

सेनाको लडाकु विमानहरूले ‘उत्तरी डार्फरको तोरा बजारमा अन्धाधुन्ध हवाई आक्रमण गरेको, सयौँ नागरिक मारेको र दर्जनौँलाई गम्भीर रूपमा घाइते बनाएको’ सो समूहले जनाएको छ ।

डार्फरमा दूरसञ्चार अवरोधका कारण हमलाको सठिक समय र क्षतिबारे स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको एएफपीले जनाएको छ ।

सन् २०२३ अप्रिलदेखि द्वन्द्वमा पारामिलिट्री र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)सँग लडिरहेको सेनाले यसबारेमा तत्काल टिप्पणी नगरेको बताइएको छ ।

सुडानमा लामो समयदेखिको युद्धले दशौँ हजार मानिसको ज्यान लिएको छ, एक करोड २० लाखभन्दा बढीलाई विस्थापित गरेको छ र विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापनको सङ्कट सिर्जना गरेको छ ।

फ्रान्सको आकारको विशाल क्षेत्र डार्फरले युद्धको सबैभन्दा खराब हिंसाको सामना गरेको छ । हिंसामा नागरिक क्षेत्रहरूमा ब्यारेल बमको रिपोर्ट, अनिकाल प्रभावित विस्थापन शिविरहरूमा अर्धसैनिक आक्रमण र उग्र जातीय हिंसा समावेश छ ।

यद्यपि आरएसएफले डार्फरमा अत्यधिक सुसज्जित ड्रोनहरू तैनाथ गरेको छ । नियमित रूपमा क्षेत्रभरि आरएसएफ स्थानहरूमा आक्रमण गर्दै सेनाले आफ्नो लडाकु विमानहरूको साथ आकाशमा वर्चश्व कायम राखेको छ ।