म्यान्मा र थाइल्याण्डमा शुक्रबार (२८ मार्च) गएको शक्तिशाली भूकम्पमा परी हालसम्म लगभग १५० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । दर्जनौं मानिस भत्किएका भवनहरूमा फसेका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको एएफपीले जनाएको छ ।
शुक्रबार दिउँसो सागिङ शहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पले म्यान्माका ठूला भागहरूमा भवन ध्वस्त भयो, पुल भत्किए, सडक भत्किए र सयौं किलोमिटर टाढा बैङ्ककमा निर्माणाधीन ३० तले गगनचुम्बी भवन पनि भत्कियो ।
यद्यपि प्रकोपको पूर्ण गम्भीरता अझै खुल्न सकेको छैन ।
गृहयुद्धबाट प्रभावित म्यान्माका नेताले अन्तर्राष्ट्रिय सहायताको लागि अपील गरेका छन् । जुन्टाका प्रमुख मिन आङ ह्लिङले १४४ जनाको ज्यान गएको र ७३२ जना घाइते भएको उल्लेख गर्दै मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।
‘केही ठाउँमा, केही भवनहरू भत्किए’, राजधानी नेपिडावको एक अस्पतालको भ्रमणपछि टेलिभिजनमा सम्बोधन गर्दै उनले भने । ‘म कुनै पनि देश, कुनै पनि संस्था वा म्यान्माका जो कोहीलाई पनि सहयोग गर्न आउन आमन्त्रित गर्न चाहन्छु । धन्यवाद ।’
उनले विपत्तिपछि व्यापक राहत प्रयास गर्न आग्रह गर्दै विदेशी सहायताको लागि सबै बाटो खोलिदिएको बताएका छन् ।
थाइल्याण्डमा भने शुक्रबार साँझसम्म तीन जनाको मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया