थाइल्याण्ड प्रस्थान गर्दै प्रधानमन्त्री ओली, बिमस्टेक शिखर सम्मेलनमा सम्बोधन गर्ने

थाइल्याण्ड प्रस्थान गर्दै प्रधानमन्त्री ओली, बिमस्टेक शिखर सम्मेलनमा सम्बोधन गर्ने


प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज (१९ चैत) बैंकक प्रस्थान गर्दै हुनुहुन्छ ।

थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो १३ः३० बजे थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्नेछ । प्रधानमन्त्री ओलीले भ्रमणका सम्बन्धमा सङ्घीय संसद्का दुवै सदनलाई औपचारिक जानकारीसमेत गराइसक्नुभएको छ ।

बुधबार (२० चैत) देखि प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ भने द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनुहुनेछ । थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ ।

‘दुई देशबीच ६५ वर्षको कूटनीतिक इतिहासमा यो एउटा औपचारिक भ्रमणको आदानप्रदानको नयाँ सुरुआत हो । हाम्रो तर्फबाट यो विल्कुलै नयाँ सुरुआत हो’, प्रधानमन्त्री ओलीले सोमबार संसदमा सम्बोधनका क्रममा भन्नुभएको थियो ।

थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले यही चैत २१ गते बिहान त्यहाका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नुहुनेछ भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ ।

चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन हुने कार्यक्रम रहेको छ । शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म ‘साइडलाइनण्द्दज्ञड वार्ता गर्ने प्रधानमन्त्री ओलीको योजना रहेको छ । सोही दिन मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा प्रधानन्त्री ओली सहभागी हुनुुहुनेछ । सोही दिन साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीयसचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना रहने जनाइएको छ ।

भ्रमणको तयारीका क्रममा परराष्ट्र मन्त्रालयका दुई अधिकारी अग्रिम रूपमा बैंकक प्रस्थान गरिसकेका छन् भने थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीसहित दूतावासका चार अधिकारी नेपाल सरकारलाई कुनै आर्थिक दायित्व नपर्ने गरी भ्रमण दलमा सामेल हुने जानकारी दिइएको छ । भ्रमणमा नेपालको निजी क्षेत्रका प्रतिनिधि पनि सामेल हुनेछन् ।

प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्किने बताइएको छ ।

file photo: rss