टोकियोस्थित एसियन ब्रिज इन्टरनेशनल स्कुलको औपचारिक उद्घाटन

टोकियोस्थित एसियन ब्रिज इन्टरनेशनल स्कुलको औपचारिक उद्घाटन


  • इन्दिरा खनाल, टोकियो (जापान)

जापानको टोकियोस्थित एसियन ब्रिज इन्टरनेशनल स्कुलको औपचारिक उद्घाटन भएको छ । मार्च ३१ का दिन टोकियोको ओजीमा एक समारोहका साथ उद्घाटन भएको हो । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, जापानका पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य हिरोशी हिरागुची, विश्वविद्यालयका प्रोफेसर, एनआरएनए, पत्रकार महांसघका अध्यक्ष लगायतले रिवन काटेर उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदुत सुवेदीले विद्यालय परिवारलाई नेपाली राजदुतावास र नेपाल सरकारको तर्फबाट बधाई तथा सफलताको शुभकामना दिए । उनले विदेशी भूमिमा नेपाली पाठ्यक्रममा अध्यापन गराइने विद्यालय सञ्चालनमा आउनु सकारात्मक पक्ष रहेको भन्दै निरन्तरताको शुभकामना व्यक्त गरे । एसियन ब्रिज इन्टरनेशनल स्कुलले जापानको नेपाली समाजलाई शिक्षासँगै संस्कृति र सभ्यताको पहिचान गराउने कुरामा अग्रसर हुन आग्रह गरे । राजदुत सुवेदीले विद्यालय संचालनका लागि आवश्यक नीतिगत रुपमा राजदुतावास र नेपाल सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो समारोहमा बोल्दै जापानका पूर्वमन्त्री तथा सांसद हिरोशी हिरागुचीले नेपालको शिक्षा र संस्कृतिको विकासका लागि आफूले सहयोग गर्दै आएको बताए । उनले नेपालको महान् पर्व दशैँलाई हिरोसिमामा भएका नेपालीसंग मनाएको स्मरण गर्दै शिक्षामा पनि नेपाली अगाडि रहेको धारणा राखे ।

विद्यालय संचालन समितिका अध्यक्ष डक्टर बलराम श्रेष्ठले शिक्षा लिएको व्यक्तिले कहीँ गएर दुःख नपाउने तर्क गरिब २ लाख ४० हजार नेपाली हुँदा वर्षमा १२ सय बालबालिकाहरु जन्मने गरेको र ती बालबालिकालाई नेपाली पाठ्यक्रममा अन्तर्राष्ट्रिय स्तरको पठनपाठन हुने विद्यालय कम भएकोले एसियन ब्रिज इन्टरनेशनल स्कुल संचालन गरेको जानकारी दिए । अध्यक्ष श्रेष्ठले अहिले कक्षा ४ सम्म संचालन गरीनेविद्यालय निकट भविष्यमै विश्वबिद्यालयसम्म संचालन गर्ने योजना रहेको खुलासा गर्दै एसियन ब्रिज इन्टरनेसनल स्कुलमा पढेको विद्यार्थी पास भएर निस्कँदा सर्टिफिकेटसँगै सिप र क्षमता लिएर निस्कने बताए । त्यस्तो विद्यार्थी विश्वको जुनसुकै देशमा गएपनि बिक्न र टिक्न सक्ने भन्दै अभिभावकहरुलाई ढुक्क भएर एसियनमा पढाउन आग्रह गरे ।

यस्तै, विद्यालयका एक्याडेमिक डिरेक्टर दुर्गा पौड्यालले कलिला बालबालिकाको सुन्दर भविष्य निर्माण गर्ने जिम्मा आफ्नो काँधमा आएको भन्दै हिजोसम्म बोलेका कुरा अब साँच्चिकै कार्यन्वयनको चरणमा आइपुगेको र आफूहरु सो प्रतिबद्धता पूरा गर्न प्रतिबद्ध रहेको बताइन् ।

समारोहमा टोकियो सिटी विश्वविद्यालयका डीन तथा अनुसन्धान प्राध्यापक होमबहादुर रिजाल, एनआरएनए जापानका अध्यक्ष नवीन न्युरे, पर्यटनदूत रामहरि पुडासैनी, पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा, एनबिए जापानका संरक्षक विनोद शेरचन, जापानको प्रतिनिधिसभाका सदस्य विशेष केनिची, इबाराकी विश्वविद्यालयका प्राध्यापक मेरिटस मित्सुहिरो नाकागावा, नेपालका लागि पूर्वराजदूत योसियोका हिरोमित्सु, एसिया एक्योइकु ग्रुपका अध्यक्ष यानो यासुशी लगायतले विद्यालयलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए । सोही अवसरमा यामानासी एइवा युनिभर्सिटीबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य दिनेस लोहनीले स्वागत मन्तव्य दिएको उद्घाटन समारोहमा अभिभावक महेन्द्र पिसीले एसियन ब्रिजमा आफ्नो बच्चाको सुन्दर भविष्य देखेको र आफनो सपनालाई स्कुलले पूरा गर्नेमा आफू ढुक्क भएको धारणा राखे । विद्यार्थीहरुले नेपालको राष्ट्रियता झल्कने खालका गीत तथा नृत्य प्रस्तुत गरेका सो कार्यक्रममा विद्यालयका शिक्षिकाहरुले सन्देशमूलक नाटक प्रस्तुत गरे ।

उद्घाटन समारोहको संचालन जापानी, अंग्रेजी र नेपाली भाषामा गरिएको थियो जसको संयोजन कमल बास्तोला, सृष्टि शेरचन र लक्ष्मी पौडेलले गरेका थिए । औपचारिक समारोह सकिएपछि लोकप्रिय कलाकार रामकृष्ण वम मल्ल र रीतु थापा मगरको साथमा सांगितीक कार्यक्रम पनि भएको थियो जसको संयोजन निरोज पाण्डेले गरेका थिए ।

टोकियोको किता कु खामीनाकाजातोस्टेशन नजिक रहेको एसियन ब्रिज इन्टरनेशनल स्कुलमा सुरुवाती चरणमा प्रि–प्राइमरी देखि ४ कक्षासम्म संचालन गर्ने र प्रत्येक वर्ष कक्षा थप्दै विश्वविद्यालयसम्म संचालन गर्ने योजना रहेको छ । विद्यालयमा जापानमा लामो समयदेखि कानुनी व्यवसायमा आबद्ध रहेका डा. बलराम श्रेष्ठको अध्यक्षतामा गठित विद्यालय सञ्चालक समिति सदस्यहरुमा दिनेश सिलवाल, दिनेश लोहनी, राजन पन्त, विगेन राजकर्णीकार र मनिराज सिलवाल रहेका छन् भने एक्याडेमिक डिरेक्टर दुर्गा पौड्यालले रहेकी छन् । जापानवासी नेपालीहरुको १० करोड लगानीमा संचालनमा आएको उक्त विद्यालयमा ७० जना सेयर होल्डरहरु रहेका बताइएको छ ।