राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएको पाँच दिन बित्दा-नबित्दै र सभामुख देवराज घिमिरेका सामु आफ्नो सांसद पदको निलम्बन फुकाइपाउन ‘बिन्तीभाउ’ गरेको तीन दिन बित्न नपाउँदै सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछाने जेलको यात्रा गर्न विवश बनेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार (२२ चैत) दिएको आदेशअनुसार लामिछानेको जेलयात्रा तय भएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपा सभापति लामिछानेलाई थुनामा पठाउने आदेश भएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासका उपरजिस्ट्रार हरिगोपाल ज्ञवालीले जानकारी दिएका छन् । लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जेल पठाउने आदेश गरेको हो ।
लामिछानेलाई गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा उनको पार्टी कार्यालयबाटै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरी थप कानुनी कारवाहीको लागि स्थलमार्गबाट पोखरा लगेको थियो भने कास्की जिल्ला अदालत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलेपछि गत ८ पुसमा लामिछाने सांसदबाट निलम्बित भएका थिए ।
सुप्रिम सहकारीमा रवि, छवि र गितेन्द्रबाबु (जीबी) राईसहित ४२ जनाको संलग्नतामा सहकारीको ५५ करोड बढी रकम अपचलन भएको र रवि, छवि र जीबीले मात्र छुट्टै १० करोड ९९ लाख ३६ हजार रकम अपचलन गरेको पूरक अभियोगसहितको मुद्दामा रूपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेपनि सोही मुद्दाका अभियुक्त पूर्व डिआइजी छविलाल जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाएको थियो । समान प्रकृतिको मुद्दामा रविलाई धरौटी र छविलाई थुना भएपछि सरकारी वकिल कार्यालयले रविलाई पनि थुनामै राख्नु पर्ने अपिल गर्दै उच्च अदालत गुहारेको थियो ।
प्रतिक्रिया