पौराणिक ‘किचकबध’मा आठौं उत्खनन् : ‘दरबारको जग’ फेला

पौराणिक ‘किचकबध’मा आठौं उत्खनन् : ‘दरबारको जग’ फेला


  • राजबाबु शंकर, भद्रपुर (झापा)

महाभारतकालीन विराट राजाको सालो किचकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका-३ मा पर्ने किचकबधस्थलमा पुरातत्व विभागको टोलीले पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटेको जनाएको छ ।

यसपटक भएको आठौं चरणको उत्खनन्का क्रममा ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिएका हुन् ।

किचकबधस्थलमा २०५८ सालदेखि विभागले वर्षेनीजसो आचार्यको नेतृत्वमा जारी राखेको उत्खनन्का क्रममा यसपालि ३ मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन् ।

‘यसपटक हामीले केही नयाँ ठाउँमा उत्खनन् गरेका थियौं’, पुरातत्वविद् आचार्यले भने- ‘विगतमा उत्खनन् हुँदा फेला परेका पुरानो दरबारको सुरक्षा पोष्ट, पर्खाल र कम्पाउण्ड सहितको भौतिक संरचना भेटिएको थियो । त्यसबेला फेला परेका मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाडावर्तन लगायतका सामग्रीहरू पुरातत्व विभागले संरक्षण गर्दै आएको छ ।

‘सशस्त्र द्वन्द्वका कारण २०६१ सालदेखि ०६६ सालसम्म उत्खनन् रोकियो भने त्यसपछि फेरि २०७४ सालदेखि ०७९ सालसम्म पनि बजेट अभाव लगायतका कारणले उत्खनन् हुन सकेन’ पुरातत्वविद् आचार्यले बताए । १० बिघा क्षेत्रमा फैलिएको किचकबधस्थलमा पर्यटकीय आकर्षण थप्ने क्रममा सोही उत्खनन् स्थगन रहेको समयावधिमा मन्दिर, अर्को पोखरी र अन्य भौतिक संरचना बनाइएको थियो ।

विभागले पहिल्यैदेखि नयाँ संरचनाहरू जथाभावी रूपमा बनाइँदा प्राचीन महत्वका संरचना तथा वस्तुहरू नष्ट हुने जोखिम रहेको बारे सचेत गराउँदै आएको छ । जसको पुष्टि यसपटक भयो पनि । करीब ७ वर्ष अघि डाँडामा रहेको पुरानो सत्यदेवी मन्दिर हटाउन लगाएको स्थानमै यसपटक उत्खनन् गर्दा प्राचीन दरबारको जग भेटिएको हो ।

डाँडाबाट मन्दिर हटाएर त्यसको मुनि २०७३ सालको असार १९ गते पूर्ववत् स्वरूपको मन्दिर बनाइएको छ । विगतमा किचकबध डाँडामा खनजोत गरेर खेतीपाती समेत गरिएका कारण भूसतहका पुरातात्विक महŒवका कतिपय वस्तुहरू नष्ट भएको हुन सक्ने विभागको आशङ्का छ ।

‘उत्खनन्का क्रममा किचकबधमा हामीले फेला पारेका प्राचीन वस्तुहरूको नमूना बेलायतमा लगेर कार्बन टेष्ट गर्दा २२ सय वर्ष पुरानो वास्तुकला, सभ्यता र संरचनाको प्रमाण भएको पुष्टि भइसक्यो’, आचार्यको कथन छ- ‘हालसम्म कुनै लिखित सामग्री भने फेला नपरे पनि सानो कम्पाउण्ड सहित सुरक्षा पोष्ट र हात्ती÷घोडालाई लगाइदिने सामानहरू पनि भेटिएका छन् । यी कुराले यो स्थान प्राचीन धरोहर हो भन्ने प्रमाणित हुन्छ ।’

सरकारले किचकबधको पौराणिक तथा पुरातात्विक महŒव भए पनि उत्खनन् तथा संरक्षणका लागि पर्याप्त लगानी गर्न सकेको छैन । थोरै बजेटका कारण उत्खनन् र संरक्षण गर्ने काम अधुरो हुने गरेको छ । ‘यसपालि पनि सरकारले छुट्याएको १० लाख बजेटबाट दैनिक १३ जनासम्म कामदार लगाएर लगभग १ महिना काम ग¥यौं, विभागका अधिकृत नवराज अधिकारी भन्छन्- ‘बजेट पर्याप्त हुने हो भने एकै वर्षमा धेरै काम हुन सक्थ्यो ।’

आचार्यकै नेतृत्वमा ४ सदस्यीय टोलीद्वारा यस वर्ष फागुन २५ बाट थालिएको उत्खनन् चैत १७ गतेसम्म गरिएको थियो । उत्खनन्पछि भेटिएका प्राचीन संरचना र प्राप्त सामग्रीहरूलाई चैत १८ देखि २२ गतेसम्म सोही क्षेत्रमा संरक्षण गर्ने कार्य सकेर चैत २३ गते विभागको टोली काठमाडौं फर्किएको छ ।

किंवदन्ती अनुसार, महाभारतकालीन राजा विराटको ‘किचक’ नामका सालो थिए । जहाँ उनको दरबार थियो । पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले बिराटनगरदेखि लखेटेर किचकलाई यही दरबारमा ल्याएर बध गरेका कारण यस स्थानलाई ‘किचकबध’ भनिन थालेको हो ।