देश दुःखेको बेला परदेशमा बसेकाको मन दुःखेपछि…

देश दुःखेको बेला परदेशमा बसेकाको मन दुःखेपछि…


देशको अस्तित्व अब बचाउनु पर्छ,
भाषा, धर्म र संस्कृति जोगाउनु पर्छ
भ्रष्टचार र अत्याचारले पिर्नु पिऱ्यो
देशबाटै भ्रष्टचारीलाई भगाउनुपर्छ ।

■ ■

देश दुःखेको बेला परदेशमा बसेकाहरूको मन पनि दुख्छ, माटो रोएको बेला त्यही माटोसँग सालनाल जोडिएकाहरूको मुटु पनि रुन्छ । यही भएको छ अहिले प्रवासी जीवन ब्यतीत गरिरहेका नेपालीहरूलाई । लुटेराहरूले लोकतन्त्रको नाममा देश लुटिरहेछन्, जनता अब अन्तिम आश पालेर ‘तारनहार’का रुपमा देश जोगाउन राजालाई गुहारिरहेका छन् । नेपाली जनता र देशको हित एवं उन्नतिको निम्ति राजसंस्था एकमात्र भरपर्दो र अविभावकीय शक्ति रहेको यकिन गर्दै गणतन्त्रको खारेजी र संवैधानिक राजतन्त्रको पुनर्वहाली अपरिहार्य रहेको हामीले पनि ठहर गरेका छौँ ।

क्यालिफोर्निया निवासी राष्ट्रवादी मित्र शेखर ढुंगेलको समेत सुझाव, सल्लाह र सहमतिमा तयार पारी मनको छटपटी र पुकार प्रस्तुत गरिएको छ । मुलुकप्रति यसबाट नेपाल सरकार तथा सम्बद्ध सबैको सकारात्मक ध्यान जागृत हुनेछ भन्ने अपेक्षा गर्दछु ।

■ ■

गणतान्त्रिक व्यवस्थाका नाइकेहरूबाट गरिएको नीतिगत भ्रष्टाचारको दलदलमा देश फसेको छ, राजा र जनताका पुर्खाको रगत पसिनाले सिर्जित अखण्ड नेपालको अस्तित्वमाथि विदेशी हस्तक्षेप निम्त्याइएको छ, सदियौँदेखि मानिआएको सनातन हिन्दु धर्म, मौलिक संस्कृतिसहित नेपाली जनताको धार्मिक आस्थामाथि विदेशी स्वार्थमिश्रित व्यापार गरिएको छ । जात-जाति, भाषा-भाषी र धर्म-धर्मावलम्बीको निहुँमा सामाजिक एकतामाथि बिखण्डनको बिउ रोप्ने काम भएको छ, सामाजिक विकृतिको रुपमा मात्र देखिएको जातीय वा वर्गीय विभेदलाई व्याबहारिक रुपमा मेटाउनुको साटो संविधानमै समेटेर मानिस बीचको उचनिचको भावनालाई वैधानिकता दिने काम गरिएको छ । दलाल र बिचौलियाको इशारामा सरकार संचालित छ, अन्याय, अत्याचार, महँगी र भ्रष्टाचारले जनता पिरोलिएका छन् । युवा जनशक्ति विदेश पैठारी गरेर उनीहरूबाट रेमिटान्स भित्र्याउने धन्दा चलाइएको छ, देशमा उत्पादन शुन्य छ, अर्थतन्त्र सम्पूर्ण रुपले आयातमुखी बनाइएको छ । समग्रमा, देश टाट पल्टने अवस्थामा देखिन थालेको छ ।

यो भयावह अवस्थाबाट देशलाई निकास दिन गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको खारेजीसहित राजसंस्था र नेपाललाई पुनः वैदिक सनातन हिन्दु अधिराज्य बनाउने माग बोकेर लाखौँ जनता सडकमा उत्रिएको वर्तमान यथार्थ जगजाहेर छ । देश-विदेशमा रहने सम्पूर्ण देशभक्त नेपालीहरूको पनि यो शान्तिपूर्ण आन्दोलनमा साथ रहेको पाइन्छ । यसै सन्दर्भमा चैत्र १५ गते संयुक्त जनआन्दोलन आयोजक समितिले काठमाडौंमा आयोजना गरेको आमसभामा सरकार पक्ष वा गणतन्त्र बचाउ पक्षधरको नियोजित घुसपैठका कारण अराजक स्थिति पैदा गराएर ठूलो जनधनको क्षति हुनुका साथै केही निर्दोष व्यक्तिहरूको अनाहकमा ज्यान समेत गयो, जुन अत्यन्तै आपत्तिजनक र भत्सर्नायोग्य रहेको छ । अझ उल्टै शान्तिपूर्ण जनआन्दोलनमा सहभागीहरू रविन्द्र मिश्र, डा. धवल समशेर राणा लगायतका दर्जनौँ राष्ट्रप्रेमी एवं देशभक्त नेता तथा युवाहरूलाई पक्रेर हिरासतमा राख्ने काम गर्नु खेदजनक रहेको छ । यी देशभक्त योद्धाहरूको तुरुन्त रिहाइ होस् भन्ने आग्रह र माग समेत गर्दछौँ सरकारसँग ।

देशप्रति साँच्चै नै चिन्ता छ भने, देश र जनताकै निम्ति राजनीति गरेको हो भने वर्तमान सत्ताधारीहरूले अत्यन्तै गम्भीरताका साथ यस विषम परिस्थितिलाई वुद्धिमत्तापूर्वक सुल्झाउने प्रयत्न गरोस् । पक्राउ गरिएका सबै योद्धाहरूलाई तुरुन्त रिहाइ गर्नुका साथै आन्दोलनमा सहभागी वा सरोकारवाला जनताको माग र मुद्दालाई इमान्दारीपूर्वक सम्बोधन गरी जनभावना अनुरुपको संवैधानिक राजसंस्थासहितको बहुदलीय प्रजातन्त्र स्थापनाको प्रयत्न होस्, देशलाई सङ्घीयताविहीन हिन्दु अधिराज्य बनाउने काममा ढिलाइ नहोस् । भ्रष्टाचारीहरूप्रति शुन्य सहनशीलता अपनाएर निर्मम कारवाही गर्ने सरकारको हिम्मत देखियोस् ।

जोसुकै संलग्न रहेको होस् हत्या, हिंसा र आतंकप्रति हाम्रो सधैं विरोध र विमति रहेको छ र रहनेछ भने राष्ट्रको हित खातिर शान्तिपूर्ण जनआन्दोलनबाट हुने सामाजिक रुपान्तरणको हामी सधैं साथ र पक्षधर रहनेछौँ ।
जय देश जय नरेश !!

  • कोलोराडो, अमेरिका