विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अ.दु.अ.आ. सर्वोच्चमा

विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अ.दु.अ.आ. सर्वोच्चमा


तत्कालिक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्ससम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

बैंकिङ प्रक्रियाविपरीत कर्जा प्रवाह गरी रु तीन करोड ८७ लाख ९४ हजार ७२४ बराबरको रकम हिनामिना गरेको अभियोगमा आयोगले नागरिक लगानी कोषका प्रतिनिधि सञ्चालक छविरमण अधिकारी र तत्कालिक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका अध्यक्ष वसन्त मल्लविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दाका सम्बन्धमा विशेषले २०८० फागुन १० गते फैसला गरेको थियो । उक्त फैसला कानुनसम्मत नभएको दाबीसहित आयोगले बिहीबार (२८ चैत) सर्वोच्चमा पुनरावेदन गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही फाइनान्स कम्पनीका लागि नागरिक लगानी कोषका सञ्चालक छविरमण अधिकारी, अध्यक्ष वसन्त मल्लका हकमा विशेषले गरेको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ ।

आयोगले प्रतिवादीहरू मधुवनलाल श्रेष्ठ, मधुरलाल सिन्या, रीता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यको मुद्दामा पनि विशेषले गरेको फैसलाविरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । बैंकिङ प्रक्रियाविपरीत गएर उनीहरूले रु ११ लाख ५४ हजार ७०८ बराबर कर्जा प्रवाह गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको थियो । सो मुद्दामा २०८० फागुन १० गते विशेषले फैसला गरेको थियो ।

आयोगले सो ऋण प्रवाहका सम्बन्धमा विभिन्न १२ वटा मुद्दा दायर गरेको थियो । सबै मुद्दामा विशेषले गरेको फैसला कानुनसम्मत नभएको पाइएको भन्दै सामूहिक रूपमा नै पुनरावेदन गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।