हनुमान जन्मोत्सवमा तनाव भएपछि पर्सामा ‘कर्फ्यू’ आदेश जारी

हनुमान जन्मोत्सवमा तनाव भएपछि पर्सामा ‘कर्फ्यू’ आदेश जारी


हनुमान जन्मोत्सवका अवसरमा शनिबार (३० चैत) वीरगञ्जमा तनाव बढेसँगै जिल्ला प्रशासन कार्यालय पर्साले ‘कर्फ्यू’ आदेश जारी गरेको छ ।

वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि आज बेलुका साढे ६ः०० देखि आइतबार १२ः०० बजेसम्मका लागि कर्फ्यूआदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यू
आदेश जारी गरिएको जनकारी दिँदै भने, “आज भएको तनावको विषयमा आधिकारिक विवरण आइसकेको छैन, केही सङ्ख्यामा प्रहरी र अन्य व्यक्ति घाइते भएको विवरण छ ।”

कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ । जसअनुसार पूर्वः भेडियाही चौक–वीरगञ्ज महानगरपालिका–१५, पश्चिमः सिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म कर्फ्यु आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म कर्फ्यू आदेश जारी गरेको छ ।

यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट–वीरगञ्ज महानगरपालिका–१६ सम्म कर्फ्यू आदेश कायम रहने प्रशासनले जनाएको छ । यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो ।