अवैधरुपमा निकासी गर्न लागिएको आठ सय ९४ केजी शालिग्राम प्रहरीद्वारा बरामद

अवैधरुपमा निकासी गर्न लागिएको आठ सय ९४ केजी शालिग्राम प्रहरीद्वारा बरामद


मुस्ताङमा प्रहरीले अवैध शालिग्राम बरामद गरेको छ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र-३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले ३४ वटा सेतो बोरामा ‘प्याकिङ’ गरिएको आठ सय ९४ केजी शालिग्राम शिला बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिका-३ घमिबाट जोमसोमतर्फ गइरहेको ग ३ च ८१५२ नं को बोलेरो जीपलाई शङ्का लागि जाँच गर्दा अवैध शालिग्राम फेलापारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।

लोघेकर दामोदरकुण्ड-५ सुर्खाङ बस्ने ४१ वर्षीय कुनसाङ रेञ्जिङ गुरुङले बोलेर जीपमा लोड गरेर अवैध रुपमा लुकाइछिपाइ शालिग्राम जोमसोमतर्फ लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय छुसाङले बरामद गरेको प्रहरी निरीक्षण अधिकारीको भनाइ छ । अवैध रुपमा ल्याउँदै गरेको शालिग्रामसहित जीपचालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण कार्यालय जोमसोममा पेस गरिएको प्रहरीले जनाएको छ ।

एक्याप जोमसोमले शालिग्राम शिलासहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रधान कार्यालय पोखरामा अनुसन्धानका लागि पठाइसकेको कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।

जिल्लाको दामोदरकुुण्ड हुँदै कालीगण्डकी नदीमा जम्मा हुने शालिग्रामलाई हिन्दू धर्मशास्त्रमा विष्णु भगवानको प्रतिकको रुपमा पुज्ने गरिन्छ । व्यावासायिक रुपमा ठूलो परिमाणमा शालिग्राम ओसारपोसार गर्नेविरुद्ध मुस्ताङ प्रशासन, प्रहरी र एक्यापले कडान निगरानी गर्ने गरेको छ । व्यक्तिगत रुपमा फुटकर शालिग्राम शिला खरिद गरेर जिल्लाबाहिर लैजानका लागि प्रशासन, प्रहरी र एक्यापले छुट दिएको छ ।

जिल्लामा सडक सञ्जालको विकाससँगै शालिग्राम दोहनको क्रम बढ्दो अवस्थामा छ । जिल्लामा आउने वार्षिक पाँच लाख भक्तजनले एक÷एक वटा शालिग्राम खरिद गरेर लैजाने हो भने पनि मुस्ताङबाट ठूलो परिमाणमा शालिग्राम जिल्लाबाट बाहिरिने गर्छ । यहाँको कागबेनी, मुक्तिनाथ, जोमसोम लगायतका स्थानमा फुटकर व्यवसायीले शालिग्राम बिक्रीका लागि राखेका हुन्छन् । जिल्लामा पर्यटक आगमन बढेसंगै शालिग्राम संरक्षणको विषय चुनौतीपूर्ण बनेको छ ।