✍ डिल्ली अम्माई
पुर्खाले सहजताको लागि
समयलाई टुक्रा पारे
घडी, पला, महिना, ऋतु र वर्ष बनाए
यो सृष्टिको स्वचालित चक्र हो भन्ने भ्रम भयो ।
पुर्खाहरुले शत्रु र सहयोगीको लागि
फरक-फरक भाष्य र कलाको निर्माण गरे
देव, दानव तिनका काल्पनिक तस्बिर कल्पिए
त्यो कल्पभित्र हुर्केको इतिहासको क्रम हो भन्ने भ्रम भयो ।
हाम्रै गाउँमा परम्परादेखि सेवारत
तिनै विश्वकर्मा, सुचिकार र धातुका पारखीहरुलाई
प्रेम हैन घृणा गर्ने चलन चलाए
यो सब भाग्य र समयको खेल हो भन्ने भ्रम भयो।
समय वास्तवमा त्यो हैन
समय गतिको आयाम हो
घडीले देखाएको समय
क्यालेन्डरमा उभ्याइएका नाम
कार्य सहजताको लागि हो।
घडीको समयको पुनरावृत्ति हुन्छ
तर गतिको पुनरावृत्ति हुँदैन
त्यो ब्रह्माण्डसँगै कुँदिरहन्छ
र शक्तिको केन्द्रीकरणमा थुनिन्छ
त्यही गतिको निरन्तरता रुकावटको अन्तरा समय हो।
समय ब्रह्माण्डको फैलावट हो
समग्रमा रोकिँदैन फर्किंदैन
सुन्यतामा चित्र कोर्दै
खगोलको आसपास कुँदिरहन्छ
त्यसैले समयलाई वर्षहरुले धानेको आकारभित्र थुन्न सक्दिनँ ।
प्रतिक्रिया