लागुऔषधको नशामा बहिनीको हत्या, दाजु पक्राउ

लागुऔषधको नशामा बहिनीको हत्या, दाजु पक्राउ


आफ्नै ११ वर्षीया बहिनीको हत्या आरोपमा एक किशोरलाई प्रहरीले काठमाडौं उपत्यकाको ललितपुरबाट पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१२ मङ्गलबजार बस्ने भगवती बोहराकी ११ वर्षकी छोरी दुर्गा बोहरा बेपत्ता भएको घटनाको लामो अनुसन्धानपछि उक्त तथ्य पत्ता लागेपछि आफ्नै दाजुलाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार गत चैत ४ गते राति हराएको भनी जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको निवेदनपश्चात् खोजतलास गर्ने क्रममा मिति चैत २९ गते खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुइँतलामा रहेको पानी ट्याङ्कीमा सडेगलेको अवस्थामा बालिकाको शव फेला परेको थियो ।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटना मृतकका १५ वर्षीय कान्छो दाइले कर्तव्य गरी हत्या गरेको खुल्न आएको र उनलाई वैशाख १ गते मङ्गलबजारबाट पक्राउ गरी ललितपुर प्रहरीलाई बुझाइएको छ ।

खोजतलास तथा अनुसन्धानका क्रममा अवालेको पाँचतले घरको भुइँ तल्लामा रहेको प्रयोगविहीन सिमेन्टले बनाएको पानी ट्याङ्कीमा दुर्गा बोहराको शव फेला परेको थियो । बाबुराजा अवालेको उक्त घरमा मृतकको परिवार भाडामा बसेर पछि अन्यत्र डेरा सरेका थियो ।

उक्त घरमा भाडामा बस्ने अर्को चमेली सुनारको परिवार पनि अन्यत्र डेरा सरेपश्चात् सो घरमा कोही नबसी घर खाली रहेको थियो । चैत ४ गते मृतक र उनका दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घरतर्फ जाँदै गरेको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

दाजुबहिनी सँगै गएको फुटेज भेटिएपश्चात् दाजुमाथि शङ्का लागि सोधपुछ गर्दा उसले कोठा सर्दा छुटेका कपडा लिन भनी दाजुबहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनीलाई पिटेर उक्त ठाउँमा रहेको नाइलनको डोरीले पछाडिबाट घाँटी कसेर भुइँमा लडाइ छोडी भागेको अनुसन्धानका क्रममा बयान दिएको प्रहरीले जनाएको छ ।

चैत ४ गते दाजुबहिनीले नै लागुऔषधको ट्याब्लेट खाएका थिए र त्यसको नशामा आफू भएकाले त्यस्तो घटना हुन गएको कुरा बताएको र चैत ५ बिहान नशाले छाडेपछि आफूले हिजो बहिनीमाथि गरेको आक्रमण सम्झी उक्त घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको देखेको र बहिनीको शव ट्याङ्कीमा हालेर हिँडेको बयान दिएको प्रहरीले जानकारी दिएको छ । आरोपीको परिचय भने प्रहरीले खुलाएको छैन ।