गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो


पश्चिमी सीमानाका गड्डाचौकी (कञ्चनपुर) भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार कोरोना महामारीपछि यो नाका भएर नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या न्यून रहे पनि पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । ‘यहाँबाट अहिले विदेशी पर्यटक भित्रिने क्रम बढ्दो छ, यो वर्ष विगतको तुलनामा अझै बढ्ने अनुमान गरेका छौँ’, सो कार्यालय प्रमुख कृष्णानन्द जोशीले भनेका छन् ।

जोशीका अनुसार सन् २०२३ मा यो नाका भएर नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यसैगरी सन् २०२४ मा एक हजार १५४ विदेशी पर्यटक यहाँबाट नेपाल आएका छन् । सन् २०२५ को हालसम्म चार सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन्भने यस वर्ष मार्चमा मात्रै दुई ८९ जना नेपाल प्रवेश गरेका छन् ।

गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकहरू पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका कार्यालय प्रमुख जोशीले बताउनुभयो । यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिकहरू आउने गरेका छन् ।