म पनि बानेश्वरमा मरें !

म पनि बानेश्वरमा मरें !


बुढापाकाले नमरी स्वर्ग देखिन्न भन्थे । नर्क र स्वर्ग कस्तो हुन्छ भन्ने अनुभव अहिलेसम्म मरेर गएकाले फर्केर आएर बताएका छैनन् । तर पनि भनिन्छ, नमरी स्वर्ग देखिन्न ! तर अचेल स्वर्गपुगेर फर्कने चलन आएको रहेछ । त्यो स्वर्ग यहि काठमाण्डौमा रहेछ । स्वर्गै रहेछ बानेश्वर । स्वर्गै रहेछ बबरमहल । यस्तो स्वर्ग ओगट्न पाएपछि गुरुहरु रमाइ-रमाइ नाच्ने, गाउने, जादु देखाउने, जोक सुनाउने, सेल्फी खिच्ने आदित्यादिमा उधुम मच्चाउनुभएको रहेछ ।

गुरुहरु काठमाण्डौको यस्तो स्वर्गमा रमाएको सुनेर मेरो मनले मानेन । त्यसपछि स्वर्ग देख्न भनेर दिउँसो एक बजेतिर म पनि बानेश्वरमा मरें ! अरुले देखेर सुनाएको कुराले मलाई पटक्कै चित्त बुझ्दैन । बानेश्वरमा गएर मरेर आएकाले लेखेको वा भनेकोले मलाई हुँदैभएन । त्यसैले दिउँसो आफैं मरें बानेश्वरमा । विसञ्चो भएपनि आस्तेआस्ते माइतिघरबाट बबरमहल हुँदै बानेश्वरमा मरें । फर्कन मिल्ने मरण भएपछि बानेश्वरमा मरिसकेपछि फोटो खिच्दै रामरमिता हेर्दै मरिरहें । त्यो ठाउँ त साँच्चैको स्वर्गै पो भएको रहेछ !

आच्चै ! त्यहाँ त जताततै स्वर्ग रहेछ । बाटो सफासुग्घर छ । गुरु र गुरुमाहरु पनि स्कुले पोशाकमा चिरिचट्ट परेका छन् । भोकले चाउरी परेको यौटो पनि छैन । सबैको मुहारमा आभा छ, कान्ति छ । कसैमा पीर परेको भन्ने त एकरति निशान छैन । यो गीत सुनेर लाग्थ्यो, पीर होइन जोश छ वहाँहरुमा-
हाम्रो आवाज सुन्दैनौ किन !
हिंड्न सक्छौ सेक्रुटी गार्डविना !

गुरुमाहरुको यो गीत सुनेर म धन्नै ढलेको !

स्वर्गबाट बबरमहल भएर फर्कंदै गरेका गुरुहरु विद्यालयलोक नखुले अझ रमाउने सुरमा हुनुहुँदो रहेछ । गुरुहरुको यो बानेश्वरको मरण पनि धर्म गर्दागर्दै भए जस्तो लाग्यो । संस्कृत नपढाए पनि अति धार्मिक हुनुहुन्छ गुरुहरु भन्ने बोध भयो मलाई ! करोडौं करोडका ढलान गरेर पक्कि बनेका स्कुलमा गरीबका छोराछोरीलाई पहिलो प्राथमिकता दिनु र स्कुलमा भर्ना गर्नु कम धर्म मिल्छ गुरुहरुलाई ।

हाम्रा गुरुहरु अति नै मनकारी हुनुन्छ । गरिबका छोरछोरीलाई निःशुल्क पढाउनुहुन्छ । गुरुहरुको मौलिक अध्यापनले अभिभावक मख्ख छन् । एसईईमा फेलै भएपनि त्यस्ता विद्यार्थी श्रृजनात्मक प्रतिभा बनेर निस्कन्छन् । पास भएर विदेश जानभन्दा स्वदेशमै बसेर ढुङ्गामुढा गर्न सक्ने हो भने मौका परे शहीद हुन्छ केटो ! अनि आमाबाबाले झ्याप्पै दशलाख हात पारेपछि ‘छोरो त पाएकै रछौं’ भन्दै गर्व गर्छन् । बोर्डिङको रटन्ते विद्याभन्दा सरकारी स्कुलको फेल हुने विद्या नेपाली संस्कृतिअनुसारको मौलिक छ । स्वधर्म निधनम् श्रेय परधर्म भयावह ! कति राम्रो छ तरिका ! आहा, गुरुहरुलाई धर्मैधर्म !

धर्म त गुरुहरुले डोकोभरी बटुलिरहनु भएको रहेछ । धनीमानीका छोरछोरीलाई ब्लकले लगाएका गाह्रा र कर्कटपाताले छाएका टहरा जस्ता तबेलामा लखेटदिनु हुन्छ । बल्ल खाएऊ धनीहरु सक पैसा भन्दै त्यस्ता बोर्डिङमा जान बाध्य पार्नुहुन्छ । यसो गर्दा गरीब किसान मजदुरहरुको आशर्विादले गुरुहरुको फलिफाप हुनैपर्छ । त्यहि आशीर्वाद र धर्मले आज गुरुहरुले यो स्वर्गलोक काठमाण्डौको अति सुन्दर बबरमहल र बानेश्वर नगरीमा नाचगान गर्न पाउनुभएको छ । ह्याँ धन्न मरेचु म आज ! नत्र यो मौका कहिल्यै पाउने थिइनँ । जय होस बालकोटे यमराजलाई !

रमाइरहेका र एकदम खुश गुरुहरुको गतिविधि देख्दा बोर्डिङमा पढ्न नसकेर गुरुहरुको गुरुकुल जस्तो भव्य महलजस्ता सरकारी स्कुलमा पढाएर अति पुण्य गर्नुभएको रहेछ र बानेश्वरमा मर्नुभएछ । जो स्वर्गसरी छ । बालेनले हरियाली बनाइदिएका छन् । वरिपरि इन्द्रको स्वर्गलोकमा पाइने बराबरका गगनचुम्वी महलहरु देखिन्छन् । गाडीका चक्का भन्दा गुरुहरुका पादुकाले मुसारेका सडक चिल्ला छन् । आहा ! यो देखेर म त अघाइनँ ! उस्तैपरे भोलि पनि म बबरमहलतिरै मर्छु । म मात्रै होइन म जस्ता अरु पनि हज्जारौं गुरुहरुको उम्दा प्रस्तुति हेर्न मरेर आउँदा रहेछन् । म त छक्क परें गाँठे ! धमाधम म, हाम्रा गुरुहरु पुलिसहरु र अरुअरु बानेश्वरमा मरेको देखेर !

बालकोटे यमराज र बुढानिलकण्ठे चित्रगुप्तहरुले गुरुहरुको स्वर्गको यत्रा गर्न टिएडिए हाल्दिएका रहेछन् कुन्नि ! जे होस् नर्क भए पो सस्तो पर्छ स्वर्ग त महँगो हुने नै भयो । मनग्गे बाटोखर्च हाल्दिएका रहेछन् । तर मैले मुल्यांकन गरें- पुग्दैन । गुरुहरुको बाटोखर्च बाटैमा सक्कियो होला ! सबै होइन स्वर्गमा सोमरस र उर्वसी नभै ननिदाउने केहि गुरुहरुलाई त ठुलै अन्याय हुने देखिन्छ । यतापट्टीको विषयमा यमराज र चित्रगुप्तहरुको ध्यान नपुगेकोमा म यिनिहरुको घोर निन्दा गर्न चाहन्छु । खर्च नपुगेर त गुरुहरु स्वर्गमा दुःख पाउनुभएको छ । वहाँहरुका अनेक समस्या छन् । सुविधा केहि छैनन् । पुराना झोला र पुरानै कपडा टालेर लाउनुहुन्छ । परारका भाइरल गुरुलाई देख्नुभएन विचरा ! गुरुहरुको माग सम्बोधन गर्न शिक्षा ऐन जारी गर्न तिम्रा सांसदले मान्दैनन् भने बाटोमै जम्मा भएका हज्जारौं गुरुहरुको हस्ताक्षर संकलन गरेर जारी गर ! नत्र, गुरुहरु त्यहाँबाट तत्काल नरकमा जान सक्ने सम्भावना बढी छ । होस् गर ! बेलैमा बालकोटे र बुढानिलकण्ठे हो !

छन् नि त कतिपय गुरुहरु.. जसले सोमरस पान नगरी कक्षा कोठामा जानै सक्दैनन् । गैहाले किताब समाउँदा हात काँप्छन् । त्यस्ता गुरुहरुलाई कसले व्यवस्था मिलाए होला खै ! यी गुरुहरु देखेर रुन मन लाग्छ ! हाम्रा परोपकारी भीम उपाध्यायज्यूले फेसबुकमा लेखेर यसो चन्दा दान गरिदिन आह्वान गरि पो दिनुहुन्थो । लौन भीम दाज्यू, यसो भएमा तपाईंको पुण्य मिल्ने अनि गुरुहरुको उद्धार हुने थियो, हैन त !

बानेश्वरमा रहुञ्जेल अनेक कुरा मनमा खेले । क्षमता र योग्यताले भएका गुरु र पार्टीका झण्डा बोकेको आधारमा बनेका गुरुहरु यो स्वर्गमा विभेद रहेछ । उनै योग्य सक्षम गुरुहरु झोलेहरु संगसंगै हुँदा लज्जाबोध गर्दारहेछन् । उनीहरुले भन्थे यस्तो हुनुमा राज्यनै दोषी हो । आ…, यस्ताकुरा जेसुकै होस् भन्दै म मरेको मान्छे ब्युँतिएँ ! नमरी स्वर्ग नदेखिने कुरा सही लाग्यो । ब्युँतेर बाँचेपछि खुशी छु । बानेश्वरमा देखिएका सबैखाले इतिवृत्तान्त अब गएर सुनाउँ किनकि म मरेर स्वर्ग गएर आएको छु । जय होस् !