हामी शिक्षक हौँ

हामी शिक्षक हौँ


निधारमा चकको धुलो, खल्तीमा खाली साँचो ।
थाकेका स्वप्न जलाएर, अभावमै हाँसो – हामी शिक्षक हौं ।।

खरानीले लेख्छौं आशा, उज्यालो खोजी बाँचौं ।
शब्दैको टुकी बालेर, रजनीमा नाचौँ – हामी शिक्षक हौँ ।।

सपनामा बल्छ घाम, स्वरमा सङ्कल्प गाँसौँ ।
सत्ताका पर्खालसँग संकल्पले लडौँ – हामी शिक्षक हौँ ।।

घाउलाई ज्ञान बनाऔं, आँसुलाई आँट टाँसौँ ।
दुखलाई गीतमा मोलौं, मौनतालाई कसौँ – हामी शिक्षक हौं ।।

मुटुभरि किताबको ठेली, विद्रोहको काँडा बाँचौँ ।
कखरासँगै गाथा लेखी इतिहासको माग जोडौँ – हामी शिक्षक हौँ ।।

‘मन’को स्वरमा गुञ्जन्छ, मौन देशको साँचो ।
शिक्षा शस्त्र हो, अज्ञानसँग लडौँ – हामी शिक्षक हौँ ।।

  • भानु-९, तनहुँ, ९८४१२८७२५३