वर्तमान सन्दर्भमा राष्ट्रभक्त/देशभक्त (Patriotism) को महत्त्व

वर्तमान सन्दर्भमा राष्ट्रभक्त/देशभक्त (Patriotism) को महत्त्व


अनेकतामा ‘एकता’ सनातन सभ्यता र संस्कृतिको विशेषता हो । यही विशेषताको आधारमा आफ्नो जीवन, धर्म, संस्कृति, सभ्यता, सामाजिक मुल्य-मान्यतालाई हृदयङ्गम गर्दै सामूहिक भावनाले ओतप्रेत हुँदै राष्ट्रको सर्वाङ्गिण विकासको लागि समर्पित भइ अतुलनिय योगदान पऱ्याउन इमान्दारपुर्वक कृयाशील हुनु सच्चा राष्ट्रभक्ति हो ।

‘जननी जन्मभूमिश्चः स्वर्गदपि गरियसी’ । अर्थात्, एउटा असल सन्तानलाई जन्म दिने माता र जन्मभूमि दुवैको स्थान स्वर्गभन्दा पनि श्रेष्ठ र महान् हुन्छ । जसले प्रस्तुत वाक्यांशलाई केवल भावनात्मक रूपमा मात्र नभइ ब्यवहारिक रूपमा आफ्नो मातृभूमिप्रति अगात प्रेम, सद्भाव र समर्पण प्रकट गर्दै मातृभूमिलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको निमित्त अविच्छिन्न रूपमा योगदान दिन सक्छ त्यस सन्तानलाई देशभक्त सन्तानको रूपमा परिभाषित गर्न सकिन्छ । वर्तमान परिप्रेक्षमा राष्ट्रभक्तिको भावना झल्काउन तपशीलमा उल्लेखित गरिएका सवालहरूको इमान्दाररूपमा कार्यन्वयन गर्न/गराउन कृयाशील हुनु यथार्थमा राष्ट्रभक्ति हो ।

१) मुलकको आर्थिक विकास र आत्मनिर्भरता

मुलुकको आर्थिक विकास लोकप्रिय विशेषणको रटानद्वारा राजनीतिक दलहरूबाट उत्पादन गरिएका लम्पट कार्यकर्ताहरूको लम्पट संगठनबाट कदापि सम्भव छैन । आफ्ना देशका नागरिकलाई नागरिकमैत्री नीति तथा कार्यक्रमहरू जस्तै- कृषि, पर्यटन, ठुला-साना-मझौला उद्योग र उदीयमान प्रविधि उद्योगहरूको संचालन सम्पादन र कार्यान्वयन सम्बन्धित नीति-नियमहरूको तर्जुमा गर्दै विदेशबाट आयात गरिएका सामानको अत्यधिक प्रयोगलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर हुने खालको व्यवसायलाई प्रवर्द्धन गर्दै आर्थिक रूपमा आत्मनिर्भर हुन कृयाशील गराउन सक्नुलाई राष्ट्रभक्तिको उदाहरणको रूपमा प्रस्तुत गर्न सकिन्छ ।

२) सामाजिक सद्भाव र एकता

नेपालको विद्यमान राजनैतिक सन्दर्भमा कृयाशील पार्टीहरूको ऐतिहासिक विरासदभन्दा माथि आधुनिक नेपालका निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहदेव सरकारबाट एकीकरण गरी निर्माण भएको मुलक सबै नागरिकको साझा फुलबारी हो । एक नेपालीले अर्को नेपालीलाई अवान्छनीय विशेषण प्रयोग गरेर नागरिकबीच विभाजन गर्ने कार्य कदापि राष्ट्रिय हितमा हुन्न र राष्ट्रभक्तिको रूपमा झल्किँदैन । त्यसकारण पार्टीलाई देशभक्तिको मार्गमा क्रियाशील गराउने हो भने धेरै कार्यकर्ता पार्टीमा अनुबन्धित गराएको आधारमा नभइ पार्टीले राष्ट्रको लागि गरेको योगदानको मुल्याङ्कनका आधारमा जनताले पार्टीलाई विश्वास गर्ने वातवरणको निर्माणमा जोड दिन सक्यो र सबै नेपालीलाई एउटै परिवारको रूपमा हेर्ने भावनाबाट निर्देशित हुँदै सामाजिक विभाजन हटाएर आपसी मेलमिलाप र सहयोगलाई प्राथमिकता दिन सक्यो भने मात्रै साँचो राष्ट्रभक्तिको उदाहरण बन्न सकिन्छ ।

३) राजनीतिक चेतना र जिम्मेवारी

देशभक्त नागरिक भनेको आवधिक निर्वाचनको समयमा हाम्रोलाई भन्दा राम्रोलाई चुन्नको लागि सचेत हुन सक्छन् । कसैको निर्देशनबिना राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्दै भ्रष्टाचार, अन्याय, तथा असमानताको विरुद्ध आवाज उठाउनु पर्दछ । मुलुक चरम भष्ट्राचार, बेथिति, विसंगति, भोक, रोग, अशिक्षा, गरिबी, परनिर्भरता र बेरोजगारीले आक्रान्त बनिरहेको अवस्थामा नागरिकहरूले भ्रष्टाचार, बेथिति, विसंगति, भोक, रोग अशिक्षा, गरिबी, परनिर्भरता, बेरोजगारीको विरुद्धमा सडकमा आवाज उठाउँदा, सरकारले दुई तिहाईको दम्भ देखाउँँदै बर्बर दमन गर्दा अन्धभक्त नभइ आफ्नो राष्ट्रलाई आर्थिक विकास र समृद्धिको मार्गमा लैजान सक्ने सरकारको विकल्प तथा सान्दर्भिक नीतिहरूलाई आत्मसात र समर्थन गर्न सक्ने तथा देशको राष्ट्रिय भावनामा दूरगामी असर पर्ने क्रियाकलापको आलोचना गर्न सक्ने परिस्थितिको सिर्जना गर्नु सक्नु सच्चा देशभक्तिको उदाहरण मान्न सकिन्छ ।

४) शिक्षा, प्रविधि र नवप्रवर्तन (Innovation)

शिक्षा देशविकासको पहिलो आधार हो । तर, नेपालको त्रिभुवन विश्वविद्यालयका आङ्गिक एकाईहरूमा अध्ययन, अनुसन्धान र अन्वेषण भन्दा भ्रष्ट नेताका ‘लम्पट कार्यकर्ता’ उत्पादन गर्ने ठाउँ भएका छन् । यहाँ दैनिक रूपमा हुनुपर्ने अध्ययन, अध्यापन र अनुसन्धानलाई विद्यार्थी युनियन, प्रघ्यापक संघ/संगठन अनि कर्मचारी युनियनको नाममा हुने राजनीतिले थला पारेको छ । हाम्रो जस्तो प्राचीन सभ्यता बोकेको मुलुकको शिक्षा प्रणाली त वैदिक कालदेखि प्रचलनमा आएको गुरुकुल शिक्षालाई हाम्रो सभ्यता, संस्कृति र जीवन पद्दतिलाई धरोहरको रूपमा आत्मसात गर्दै संरक्षण, सम्बद्र्धन र प्रयोग गर्ने वातावरणको निर्माण गर्नु आजको मूल प्राथमिकता हुनुपर्थ्यो । यसको अतिरिक्त वर्तमान परिप्रेक्ष्यमा मुलुकले नवीनतम् सोच र प्राविधिक ज्ञान भएका दक्ष जनशक्तिहरू परिचालन र नेपाली जनजीविकासँग जोडिएका पक्षहरूको समस्या समाधान गर्ने विज्ञान तथा प्रविधि विकासमा खेलबाड भइरहेको छ । यसको फलस्वरूप सम्भावित अत्याधुनिक प्रविधि उद्योग, अनुसन्धान र विद्यार्थीलाई समीक्षात्मक ढङ्गले सोच्न र अध्ययन अनुसन्धानमा उत्सुकता जागरण हुने खालका राम्रा विश्वविद्यालयहरू तथा अनुसन्धान केन्द्र स्थापना तथा त्यसको पुर्वाधार विकासमा बाधा परिरहेको छ ।

कसैले निजी लगानीमा अनुसन्धान केन्द्रको पहुँच बिस्तार गर्ने सत्प्रयास गर्दा त्यो प्रकृयामा राज्यले सहजीकरण गर्नुको सट्टा लगानीकर्तालाई निरुत्साहित गर्ने झन्झटिलो कागजी प्रकृयामा फसाएर दुःख दिइरहेको छ । यस्ता झन्झटिला नियमहरूलाई यथासक्य छिटो संशोधन गरी अनुसन्धानमा आधारित समयसापेक्ष परिवर्तित विज्ञान-प्रविधिमैत्रि निति निर्माणमा ध्यान दिनु पर्दछ । आधुनिक प्रविधिको अनुशरण तथा बिस्तार अनि दक्ष जनशक्तिको समुचित प्रयोगले मात्र झन्झटिलो प्रकृयाको अन्त्य सम्भव छ ।

तर, आजसम्म पनि नेपालमा विद्यमान विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रहरूका अनुसन्धानकर्ताहरूले गरेका अनुसन्धानले नेपालका मुख्य समस्याहरू कृषि, जनस्वास्थ्य, पशुपालन, उर्जा, सरसफाई, भौतिक संरचना तथा खानेपानी जस्ता क्षेत्रका चुनौतीलाई छुन सकेका छैनन्, जुन भोलिको आधुनिक नेपालको अर्थतन्त्रलाई परिकल्पना गर्दा त्यसको निरन्तर विकासमा सबैभन्दा महत्वपूर्ण आधार मान्न सकिन्छ । त्यसकारण आजको युग ज्ञान र प्रविधिको हो । देशलाई विश्वमान चित्रमा सशक्त ढंगले प्रस्तुत गर्दै देशको गरिमालाई एउटा विकासशील राष्ट्रको दर्जामा रूपान्तरण गर्दै गतिशील गराउन अनुसन्धानमा आधारित शिक्षा प्रणाली र त्यसको सार्थक कार्यान्वयन पक्षमा टेवा पुऱ्याउन जोड दिनुपर्ने देखिन्छ । तब युवाहरूले देशभक्तिको भावना बोकेर नयाँ सोच, नवप्रवर्तन तथा उद्यमशीलताको माध्यमबाट देशभक्तिको भावनालाई प्रतिबिम्बको रूपमा गतिशील गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । तर विडम्बना ! वर्तमान राजनैतिक प्रणालीका पहरेदारहरूले श्री ५ महेन्द्रले त्रिभुवन विश्वविद्यालयको लागि कीर्तिपुर संरक्षण गरेको ३७०० रोपनी जग्गा मध्येबाट करिब १२ सय रोपनी जग्गा गायब गरेको तथ्याङ्कहरू आउन थालेका छन् ।

५) दीगो विकाश र प्राकृतिक वातावरण संरक्षण

राष्ट्रको दीगो विकासको लक्ष्यलाई अविच्छिन्न रूपमा गतिशील गराउनको निमित्त प्रकृतिले दिएको अनुपम उपहारको समुचित प्रयोग तथा संरक्षणको आवश्यकतालाई आत्मसात गर्नुको विकल्प हाम्रासामु आउन सकेका छैनन् । त्यसमा पनि हाम्रो मुलुकलाई प्रकृतिले वरदान दिएको छ । यो अमूल्य उपहारलाई अविछिन्न रूपमा संरक्षण गर्दै यसको सार्थक उपयोगबाट हामी मानिस र प्रकृति दुवै फस्टाउन सक्ने स्वर्णिम संसारको सिर्जना गर्न सक्छौं । जसको लागि मुलुकमा दीगो र स्थायी राजनैतिक प्रणाली र अनि त्यसको सार्थक अभ्यासको क्रममा गतिशील हुँदा प्रत्येक तहको महत्वपूर्ण सहयोगको लागि त्यहाँको स्थानीय नेतृत्व, कर्मचारी र देश संचालनको बागडोर सम्हालेका नेताहरूसम्म नवीनता र प्रतिबद्धता चाहिन्छ । तबमात्र हामीले आगामी पुस्ताका लागि विश्वसनीय दीगो विकासको लक्ष्यलाई हाशील गर्न सक्दछौँ । पर्यावरणीय समस्या वर्तमान सन्दर्भमा विश्वव्यापी मुद्दा बनेको छ । प्राकृतिक स्रोतहरूको उचित संरक्षण गर्दै हरित विकासका अवधारणालाई परिष्कृत गर्ने खालका नीतिनिर्माणमा जोड दिँदै देशलाई क्रियाशील गराउन भूमिका निभाउनु नै साँचो देशप्रेम ठहरिनेछ । यद्यपि वर्तमान नेपाली राजनैतिक प्रणाली र यसका पहरेदाहरूको माध्यमबाट मुलुकमा अवस्थित महत्वपुर्ण प्राकृतिक सम्पदाको दोहन मात्रै भइरहेको देख्न सकिन्छ ।

६) मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध र प्रतिष्ठा

नेपालको सुरक्षा, राजनैतिक स्थिरता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षा गर्दै जनताको लागि समृद्धिका आधारहरू निर्माण गर्दै जनताका आस्था, विश्वास र सम्मानहरूलाई आत्मसात गर्ने बहुलवादमा आधारित उदार प्रजातान्त्रिक राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक व्यवस्था पहिलो शर्त हो । उक्त चरित्रको राजनीतिक व्यवस्थाको पक्षमा हाम्रा सिमा जोडिएका उत्तर र दक्षिणका छिमेकीहरू समेत नेपालको तेस्रो छिमेकीराष्ट्र र राष्ट्र-समूहको रूपमा रहेका अमेरिका, युरोप, जापान जस्ता मुलुकहरू र विश्वमा भगवान् गौतम बुद्धको शान्ति, सद्भाव, साझा समृद्धि र विकासको लक्ष्यमा क्रियाशील राष्ट्रसङ्घ लगायतका अन्तर्राष्ट्रिय संगठनहरूको विश्वास, सहमति र समर्थन आर्जन गर्दै मुलुकको हितमा द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय सहकार्य तथा साझेदारी गर्नुलाई आफ्नो परराष्ट्र नीतिको मूल लक्ष्यको रूपमा आत्मसात गर्दै राष्ट्रको लागि नयाँ आयाम ल्याउन क्रियाशील हुनु आजको ग्लोबल युगको टड्कारो माग हो । देशभक्ति केवल आन्तरिक मामलामा मात्र सीमित छैन । यसको अतिरिक्त नेपालले आफ्नो इमान्दारीपुर्ण श्रम, मौलिक कला, संस्कृति, प्राचीन सभ्यतालाई विश्वसामु प्रचारप्रसार गरेर मुलुकको अवस्थितिलाई विश्वसामु उभ्याउनु पर्दछ ।

विडम्बना ! हाम्रो मुलक विगत ५३-५४ वर्षयता एउटा देशभक्तिपूर्ण भावनाले ओतप्रेत नेतृत्वको अभावमा आर्थिक रूपले पूरै परनिर्भरतामा धकेलिएको छ । विक्रम संवत् २०१७-२०२८ सालसम्म जम्मा १० वर्ष सकृय शासन गर्दा श्री ५ राजा महेन्द्रले कुनै प्रकारको वैदेशिक ऋणबिना ८५० वटा स्कुल, त्रिभुवन विश्वविद्यालय, पूर्व-पश्चिम राजमार्ग, ४३ वटा अस्पताल, २१२ उद्योग तथा नेपाललाई संयुक्त राष्ट्र संघको सदस्यको रूपमा दर्ता गराउन अतुलनीय योगदान दिनुभएको थियो । अनि विकेन्द्रीकरणको भावनालाई प्रगाढ बनाउँदै १४ अञ्चल, ७५ जिल्ला र पाँच विकास क्षेत्रमा वर्गीकरण गरी महत्वपुर्ण प्रशासनिक एकाईहरूको स्थापना गर्दै मुलुकलाई विकास र समृद्धिको पथमा डोऱ्याउन असाधारण योगदान दिनुभएको थियो । संक्षेपमा प्रस्तुत गर्नुपर्दा श्री ५ महेन्द्रले मुलुकलाई बडामहाराजाधिराज पृथ्वीनारायण शाहले निदृष्ट गरेको दिब्य उपदेशलाई शिरोधार्य गर्दै मुलुकलाई समृद्धिको पथमा गतिशील गराउनुभएको तथ्यहरू इतिहासको पानामा सुरक्षित छन् ।

तर विद्यमान परिप्रेक्ष्यमा केवल सत्तो लोकप्रियताका लागि गरिने भाषण तथा नेताका विखण्डनकारी अभिब्यक्तिले मुलुक जिर्ण तुल्याएको छ । त्यसकारण देशका हरेक नागरिकले देशको अस्तित्व रक्षा गर्न गान्धीको मार्गमा निर्णायक आन्दोलनको लागि सकारात्मक सोच, सहकार्य र जिम्मेवार नागरिक बन्दै आ-आफ्नो ठाउँबाट इमानदारीपुर्ण योगदानको लागि क्रियाशील गर्नु/गराउनु नै साँचो देशभक्ति ठहरिनेछ ।

अन्त्यमा, साँचो देशभक्तिको संरक्षण, सम्वर्द्धन र रक्षा गर्नको लागि राष्ट्रिय एकताको प्रतीक राजसंस्थाको पुनर्बहाली र श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहद्वरा प्रस्तुत दिब्योपदेशलाई आफ्नो जीवन पद्दतिको रूपमा अनुशरण गर्ने दिशामा क्रियाशील हुने सत्प्रेरणा सम्पुर्ण नेपाली नागरिकलाई भगवान् पशुपतिनाथले प्रदान गरुन् ।

जय नेपाल ! जय मातृभूमि !! जय देश जय नरेश !!!