एक सन्तानको दृष्टिमा एउटा संघर्षदेखि शिखरसम्मको अमर-कथा

एक सन्तानको दृष्टिमा एउटा संघर्षदेखि शिखरसम्मको अमर-कथा


म.. मेरा बा-आमालाई सम्झँदा, मेरा आँखाभरि आँसु आउँछ.. न दुःखले मात्र, न गर्वले मात्र तर त्यो अद्भुत मिश्रणले जसले जीवनका सबै रंग समेटेको छ ।

बा नरबहादुर भण्डारीको जन्म सन् १९४० को अक्टोबर ५ तारिखका दिन पश्चिम सिक्किमको मालबाँसे भन्ने गाउँमा भएको थियो । उनका बाबा वैद्य थिए भने आमा किसान थिइन् । ६ जना दाजुभाइ-दिदीबहिनीमध्ये उहाँ कान्छो छोरो तर पाँचवा हुनुहुन्थ्यो ।

गरिबीको कारण शिक्षाका लागि आवश्यक सुविधा थिएन तर बामा पढ्ने जोश थियो । हामीजस्ता धेरैका लागि पढ्न पाउनु सामान्य कुरा होला तर बाका लागि त्यो एक लगातार संघर्ष थियो ।

स्कुल जान, कहिले दाजुहरूसँग गोठालो गरे, कहिले कसैको लागि ६ महिना घाँस बोके केवल एउटा किताबको पैसा तिर्न ।

त्यसै सङ्घर्षबीच उहाँले मलबासेदेखि नाम्ची अनि दार्जिलिङ गभर्नमेन्ट कलेजसम्मको यात्रा गर्नुभयो । त्यहाँ उहाँको मनभित्र राजनीति र समाजसेवाको बीउ उम्रिन थाल्यो । उहाँ ‘तरुण संघ’को सदस्य बन्नुभयो र त्यसबेलैदेखि उहाँमा एउटा नेताको आकार देखिन थाल्यो ।

आमा दिलकुमारी भण्डारी सन् १९४९ मई १४ मा बडा पत्ताबुङ चिया बगानमा जन्मिनुभएको थियो । उहाँको आमा चिया बगानकी मजदुर हुनुहुन्थ्यो भने बुबा सरकारी जागिरे हुनुहुन्थ्यो । आमा सानो छँदै उहाँका आमा-बाबाबीचको मतभेदका कारण उहाँले उनीहरू सँगै हुर्किन पाउनुभएन । बोजुले दोस्रो विवाह गरिन् । चिया बगानको कठिन जीवन, परिश्रम र बाजे-बोजुको मायाको आधारमा आमाको बाल्यकाल बितेको कुरा उहाँ कहिलेकाहीँ मलिन मुस्कानसाथ सुनाउनुहुन्छ ।

उहाँ पढाइमा एकदमै तेज हुनुहुन्थ्यो तर ६ जना कान्छो भाइबहिनीको पालनपोषणको जिम्मेवारी बोकेर पी.यु.सी. बीचमै त्यागेर सन् १९६७ मा उहाँले च्याखुङ स्कुलमा शिक्षिका भएर काम सुरु गर्नुभयो.. आफ्नो आमालाई थाम्न, परिवारलाई उठाउन ।
पछि बापनि त्यही स्कुलमा पढाउन पुग्नुभएछ ।

यिनै दुई महान् आत्माहरू, दुई भिन्न संघर्षका साथीहरू, पारस्परिक आदर र प्रेमले बाँधिए.. विवाह गरे ..!

सरकारी शिक्षक भएर उनीहरू विभिन्न ठाउँमा रंगेली, नाम्ची हुँदै गान्तोक स्थानान्तरण भइरहे ।

…अनि आयो सन् १९७३, सिक्किम अशान्त र परिवर्तनको घडी । त्यही बेला बाले शिक्षण पेशाबाट राजीनामा दिनुभयो र राजनीतिमा प्रवेश गर्नुभयो, पदको लोभमा होइन तर राजाको गरिमा जोगाउने, सिक्किमको अस्मिता जोगाउने मनसायले । आमा-बाको प्रेम कहिले भाषणमा देखिन्थ्यो, कहिले निर्णयमा, कहिले हामीलाई हुर्काउँदा उहाँहरूका थाकेका आँखाभित्र ।

त्यो निर्णायक क्षणले उहाँलाई मुख्यधारको राजनीतिमा ल्यायो । अनि केवल ३९ वर्षको उमेरमा बा नरबहादुर भण्डारी भारतको पहिलो नेपालीभाषी मुख्यमन्त्री बन्नुभयो । यसले भारतीय नेपालीहरूको पहिचानबारे उठाइएका भ्रम र पूर्वाग्रहलाई चिरफार गरिदियो ।

बा सिक्किमको इतिहासकै सबैभन्दा उत्कृष्ट वक्तामध्ये एक हुनुहुन्थ्यो । उहाँको स्पष्ट दृष्टिकोणको उदाहरण त्यो दिन थियो, जब प्रधानमन्त्री इन्दिरा गान्धीले सोध्नुभयो-
‘Mr. Bhandari, what do you want ?’

बाले जवाफ दिनुभयो-
‘Sikkim has merged with India, but I don’t want it to be submerged.’
उहाँको यस्तो निडर स्वभावले दुई पटक सरकार गुमाउनु परे पनि उहाँ आफ्ना सिद्धान्तमा दृढ रहनुभयो । उनको यो वाक्यले मलाई सिकायो सच्चाइ कहिलेकाहीँ सजिलो हुँदैन तर सधैं सही हुन्छ ।

कहिले भाषणमा गर्जनुभयो- ‘भारतले चामल दिन्न भने, म चीनबाट ल्याएर जनतालाई खुवाउँछु ।’

बा र आमा दुवैले सिक्किमको गाउँ-गाउँमा पानी, बिजुली, सडक, अस्पताल, स्वास्थ्य चौकी पुऱ्याउने काममा समर्पित जीवन बिताउनुभयो । एकै फाइलमा ७०० वटा पुल र १३०० वटा विद्यालय स्वीकृत गर्नु उहाँको दूरदृष्टिको प्रमाण हो । उहाँ विश्वास गर्नुहुन्थ्यो बालबालिकाले दुई किलोमिटर भन्दा धेरै हिँड्न नपरोस् । त्यसैले स्कुल र शिक्षा निःशुल्क, कपी-किताबसम्म राज्यले ब्यहोर्ने नीति उहाँले लागू गर्नुभयो ।

आमा संसाद बनिन् ।

त्यसपछि उहाँहरूले भारतमा भाषा आन्दोलन (भाषा संग्राम) अगुवाइ गर्नुभयो र सबै सांसदको समर्थन बटुल्दै नेपाली भाषा भारतको संविधानको आठौँ अनुसूचीमा समावेश गराउन सफल हुनुभयो । यस ऐतिहासिक उपलब्धिले बा र आमालाई अमर बनाइदियो ।

आज पनि जबसम्म नेपाली भाषा बोलिन्छ, तबसम्म नरबहादुर र दिलकुमारी भण्डारीको नाम गुञ्जिरहन्छ ।

यी दुई असल आत्माहरूको जीवन वास्तवमै रातो माटोबाट सुन निकाल्ने कथा हो । जहाँ संघर्ष, परिश्रम, इमानदारी र देशप्रेम मिलेर एउटा इतिहास रचियो ।

आज हामी नेपाली भाषामा लेख्न, बोल्न, सपनाहरू देख्न सक्छौं सारा भाषा संग्रामी र मेरा आमा बाका बलिदानका कारण ।

म सधैं गर्व गर्छु कि म यस्ता दुई मानिसकी छोरी हुँ जुन जीवन राजकीय हैसियतबाट होइन, संघर्ष र सेवाबाट महान् बन्यो ।

मेरा बा र आमा उहाँहरूको जोडी
हाम्रो पुस्ताका लागि र अन्तहीन समयसम्मका लागि
एक प्रेरणादायी गाथा हो ।
जबसम्म म बोल्न सक्छु, म भन्न चाहन्छु-
तपाईंहरू सधैं मभित्र जीवित हुनुहुनेछ…
शब्दमा, हाँसोमा, मेरो सपना र आत्मामा ।
शत् शत् नमन बा र आमा ।
तपाईंहरूको सन्तान हुनु मेरो जीवनकै सबैभन्दा ठूलो सौभाग्य हो ।

  • गान्तोक, सिक्किम