एनआरएनएको एकता महाधिवेशन वैशाख २० देखि काठमाडौंमा सुरु हुँदै

एनआरएनएको एकता महाधिवेशन वैशाख २० देखि काठमाडौंमा सुरु हुँदै


गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको फाइनल सूची तय गरिएको छ । उच्चस्तरीय समितिको बिहीबार (१८ वैशाख) बसेको बैठकले प्रतिनिधिको फाइनल सङ्ख्या २,६४३ जना कायम गरिएको सदस्य विनोद कुँवरले जानकारी दिएका छन् ।

कुँवरका अनुसार फाइनल प्रतिनिधिमध्ये कतिपयले अझै पनि आवश्यक कागजात बुझाउन बाँकी रहेको छ । बुझाउन बाँकी ब्यक्तिहरुले शुक्रबार अपराह्न २ बजेभित्र तोकिएको कागजात र दस्तुर बुझाउनुपर्ने कुँवरले जानकारी दिएका छन् । निर्वाचन प्रयोजनका लागि अनलाइन फारम भरिसकेका मतदाताहरूमध्ये वैशाख १५ गतेसम्म ६२५ जनाको नाम प्रमाणीकरण भई निर्वाचन समितिले प्रथम मतदाता नामावली प्रकाशन गरेको थियो । अब समितिले प्रक्रिया पूरा गरेर पुनः थप नामावली सूची प्रकाशित गर्ने बताइएको छ ।

निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले शुक्रबार अपराह्न निर्वाचन समितिले प्रक्रिया पूरा भएका नामावली थपेर अन्तिम नामावली प्रकाशित गर्ने जानकारी थिए । शनिबार महाधिवेशनको उद्घाटनपछि मनोनयन दर्ता गरिने र आइतबार मतदान गर्ने कार्यतालिका रहेको छ ।

‘निर्वाचन प्रक्रियामा सहभागिता जनाउन इच्छुक सम्पूर्ण डेलिगेटहरूले तोकिएको म्यादभित्र आवश्यक प्रक्रिया पूरा नगरेमा मतदाता नामावलीबाट वञ्चित हुनसक्ने सम्भावना प्रबल रहनेछ, त्यसैले सबै सरोकारवालालाई समयमै कार्य सम्पादन गर्न हार्दिक अपिल गर्दछौं,’ समितिले भनेको छ।

ज्ञातव्य छ, शेष घलेको नेतृत्वको एनआरएनएको एकता महाधिवेशन वैशाख २० देखि काठमाडौंमा सुरु हुँदैछ ।