राजनीति प्रदूषित रहेसम्म…

राजनीति प्रदूषित रहेसम्म…


‘तीनबुँदे सहमति’ले सत्ताको मार्गप्रशस्त नगरिदिएपछि विरक्तिएका प्रचण्ड मानसिक शान्तिको खोजीमा सिन्धुपाल्चोकका चिसा पहाड-कन्दरातर्फ निस्किएको सन्दर्भ गत साता मिडियाका लागि चासोको विषय बन्यो । यसरी मानसिक शान्ति खोज्दै भौँतारिनुपर्ने किसिमले प्रचण्डमा तनाव सिर्जना हुनुको कारकतत्त्व झट्ट विचार गर्दा उनीभित्र पन्पिएको ँसत्ता-लालसा’ नै हो भन्न सकिएला, तर गहिरिएर खोजी गर्ने हो भने त्यसको मुख्य जड वर्तमान नेपालको प्रदूषित र उद्देश्यरहित राजनीति नै हो । प्रचण्डजस्ता आश गरिएका नेतासमेत यसरी ँसत्तापिपासु’ देखिनुमा पनि यही बिग्रिएको राजनीति नै दोषी छ, प्रचण्ड स्वयम्को इच्छाले यस्तो भइरहेको किमार्थ होइन । नेपाली-राजनीतिको तलाउ नै घोर प्रदूषित बनिसकेको छ, आखिर फोहोरपानीमा पौडी खेलेर कसको शरीर सफा बन्छ र ? देश बनाउनका निम्ति गरिनुपर्ने राजनीति उल्टै मुलुक र मुलुकवासीका लागि टाउकोदुखाइको विषय बन्न पुग्नुको मूल दोषी खोज्नैपर्दाचाहिँ नेपाली राजनीतिमा छाएका नेताहरू नै अग्रपङ्क्तिमा देखिन्छन् भने अनर्थ ठहरिन सक्छ । किनकि, नेपालको लोकतन्त्र ँलोक’को इच्छामा होइन सीमित राजनीतिक दल तथा औंलामा गन्न सकिने तिनका नेताहरूको मनोगत शैली वा उनीहरूकै चाहनामा चलिरहेको छ । र, सत्ताशिखरमा रहेका नेताहरूमा इमान र देशभक्ति प्रचुर खट्किएको, उनीहरू फगत कुर्सीमोहबाट ँगाइडेड’ रहेका वास्तविकतालाई यतिबेला कसले इन्कार गर्न सक्छ र ? यदि यसो नहुँदो हो त देशको राजनीति यतिधेरै प्रदूषित अवश्यै हुन पाउन्नथ्यो ।
चेतनाका दृष्टिले नेपाली जनताको स्तर निकै माथि उठिसकेको छ तर प्रदूषित राजनीतिको भीषण सिकार बन्नुबाट जनता बच्न सकेका छैनन् । मुलुकलाई शान्ति र समृद्धिको उचाइमा लैजाने निष्ठावान नेता आजका जनताको चाहना र देशको आवश्यकता पनि हो, तर यो चाहना र आवश्यकता पूरा गर्न सक्ने सोच र सामर्थ्य भएका कोही देखिएनन् । पछिल्लो दशकभर राष्ट्रिय- अन्तर्राष्ट्रिय चर्चामा रहेर सत्तासम्म पुगेका देशकै ठूलो दलका सर्वशक्तिमान नेता प्रचण्डले पनि कुनै सम्भावना दर्शाउन सकेनन्, बरु झन्-झन् आफ्नै राजनीतिक छवि उनी ह्रास तुल्याउँदै छन् । अन्य दल या दलका नेताहरूलाई पनि पटक-पटक जनताले परख गर्ने अवसर पाएकै हुन्, जो पटक्कै खरो उत्रन सकेनन् । देशभरि नेतैनेता भएर पनि नेतृत्वको खडेरी देखिनुजस्तो विडम्बना के हुन सक्छ ?
नेतृत्वको अक्षमताको दुष्परिणामस्वरूप नेपाल र नेपालीको हैसियत विश्वमञ्चमा लगातार गुम्दै छ । विकास र आम्दानी नभएका देश र जनताको सम्मान जति नै प्रयास गरे पनि अरू कुन तत्त्वले जोगाइदिन सक्छ ? आज हावा नै विश्वव्यापी रूपमा यस्तै बगेको छ- जो समृद्ध छ त्यसैको मान-सम्मान या खातिरदारी हुन्छ । समृद्ध राष्ट्रको ठाँट नै अर्कै हुन्छ, आयस्तर बढेका जनताको क्षमता र आत्मविश्वास नै अलग हुन्छ । प्रदूषित राजनीतिकै कारण नेपाल र नेपाली यस्तो अमूल्य धनबाट वञ्चित छन् । आफ्नै छिमेक या वरपरका देशहरूले अल्पसमयमै गरेको प्रगति इष्र्यालाग्दो छ । उनीहरूले रोजगारीका अवसर प्रचुर सिर्जना गरेका छन्, जनताको आय बढिरहेको छ । आज आर्थिक विकासमा हासिल भएको प्रगतिकै कारण महाशक्ति अमेरिकाको अगाडिसमेत चीनको रवाफ ह्वात्तै बढेको छ । के आजका हाम्रा नेतागणले यस्ता यथार्थबारे ज्ञान र ध्यान राखेका छन् ? राजनीति, राजनीति, फगत फोस्रो राजनीति † यो प्रदूषित राजनीतिबाट माथि उठेर आर्थिक विकासका मुद्दामा ध्यान पुग्ने कहिले ? व्यक्तिगत र दलीय स्वार्थबाट माथि उठेर केवल देशको निम्ति काम गर्ने कहिले ? जबसम्म यस्ता सवालका सकारात्मक जवाफ मुलुकको नेतृत्व तहबाट इमानदारीसाथ सार्वजनिक हुँदैन, नेपाल र नेपालीले स्वाधीनता र आत्मगौरवको कुरा गर्नु नै र्व्यर्थ सावित हुनेछ ।