भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर ६ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा ५० जनाभन्दा बढी घाइते भएका अधिकारीहरुले बताएका छन् ।
लैराई जात्रा गोवामा एक प्रमुख हिन्दू उत्सव हो र यो आगोमा पैदल हिँड्ने समारोहका रूपमा चिनिन्छ । शुक्रबार (१९ वैशाख) साँझ सो जात्रामा भाग लिन ठूलो सङ्ख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए । सोही समयमा पसलअगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिसहरू लडेपछि त्यसपछि त्यहाँ भागदौड मच्चिएको थियो।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले एक विज्ञप्ति जारी गर्दै शिरगाओ गाउँको लैराई देवी मन्दिरमा शनिबार बिहान भएको भागदौडले आफूलाई निकै दुःखी बनाएको बताए । घाइतेमध्ये ६ जनाको अस्पताल पुर्याउनुअघि नै मृत्यु भएको सावन्तले जनाए ।
गोवाराज्यका स्वास्थ्यमन्त्री विश्वजित रानेका अनुसार घटनामा कम्तीमा ५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर र भेन्टिलेटरमा राखिएको छ भने बाँकीको विशेष आपतकालीन कक्षमा उपचार भइरहेको छ ।
भारतीय धार्मिक चाडहरूमा भागदौड मच्चिँदा घातक दुर्घटनाहरू हुने गरेका छन् । यस वर्षको सुरुमा उत्तरी शहर प्रयागराजमा कुम्भ मेलामा भएको भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया