सत्य

सत्य


तिम्रो दुःख टिठाउँदा, मेरो पीडा फिका बन्छ
बिरहमा चाँदनीको, ओठमाथि डिका हुन्छ
किन फिटी फिटी गर्छौ, सजिलो छ मान्छे चिन्न
पीडा दिनेहरूसँग, कलंकको टीका हुन्छ ।

चिन्नु जान्नु सबैलाई, पानी खान कुवा राम्रो
घोटेपछि कति मिठो, अँगेनीमा खुवा राम्रो
जात भात छैन यहाँ, खिसी गरी बोल्नु हुन्न
मान्छे मान्छे एकै हुन्छ, कपासमा भुवा राम्रो ॥

मैले पनि उनीलाई, भरखरै चिनेको हो
ओखतीमा अझै राम्रो, ओखलमा पिनेको हो
ट्वाक्क टुक्क नबोल्नु है, सावधान बन्नु पर्छ
हात तिमी हेर सधैं, माथि पर्ने दिनेको हो ॥

मेरो भोग सकियो कि, तिमी चुरी फुरी गर्छौ
हतारोमा छौ कि किन, बाटो हेरी कुरी बस्छौ
भाग भोग आफ्नो आफ्नो, अरूसँग आशा छैन
जग हाल्न छोडी अहो, हावामाथि धुरी कस्छौ ।

दैलो पोती मझेरीमा, आई किन झागो हाल्छ्यौ
लिपेपछि राम्रो बन्छ, खस्ने गरी किन टाल्छ्यौ
मैले हैन बनाएको, शास्त्र भन्छ त्यस्तै कुरा
आफ्नो घर बनाऊनु, पाइला अन्तै किन चाल्छ्यौ ?

  • कोमल, काठमाडौं