असतोमा सद्गमय

असतोमा सद्गमय


श्री गणेशाय नमः। राजनीति राजनीति जस्तो हुनुपर्ने अन्यथा भएर पो माऱ्यो !

यसले नछोएको भन्ने ठाउँ नै छैन । बोल्यो कि पोल्योको अवस्था राजतन्त्रमा । यसको अत्याचारले गणतन्त्र ( गाँडतन्त्र ?! ) आयो ; गणतन्त्रको अत्याचारले अर्को व्यवस्था नआउला भन्न सकिन्न है !

पञ्चायतका दिनहरूमा बिहान/बेलुका के खाऊँ भएका दरिद्रहरूको चुरीफुरी देखि नसक्नुको छ – अचेल । मान्छे आफ्नो इतिहास/औकात बिर्संदो (?!) छ । गिलो भात र गतिलो मान्छेले बिगार गर्दैन । निमले तीतो छोड्न नसके झैं मूर्खले दुर्गुण छोड्न नसकेकै हो । दिनपिच्छे एकोटा दुर्गुण मिल्काउँदो हो त वर्षी पुग्दा सज्जन हुन्थ्यो कि !? सके भलो गर नसके अर्कोलाई कुभलो नचिताऊ ।

समयको महत्व नबुझ्नाले हो वा बुझ पचाउनाले हो; मान्छेहरू सार्थक जीवन निरर्थक तुल्याउँदा छन् । आजकल हरेक कुरो क्षणिक छ । हिजो भाइरल भएको मनुवा आज गुमनाम हुँदो छ । साहित्यले मनुष्यलाई अमर तुल्याउँछ । घरमा खाइन्न बाहिर सोधिन्न  भनेझैं व्यक्तिलाई नघोच्न र व्यङ्गय लेख्न त पाइयो नि । यहाँ त आम मान्छे नेता उपरनेता छन् । आफूलाई थाहा नभएको विषयमा नि प्याच्च बोल्छ । अर्कोले के बोल्दैछ; घुस्रेर सुन्न जान्छ । गर्नु भन्दा बढी बोल्ने भएसि काम कसरी बन्छ र ? मान्छे यत्ति बर्बराउँछ कि कसैले तपाईंलाई त Geography निकै आउँदो रहेछ भन्ने जवाफमा म Geography मा तीन दिन बसेको थिएँ भन्दिन्छ । मित्रु त मित्रु छँदैछ नि साथीको के भर छ र ? 

नेपालको हविगत कसले गएगुज्रेको बनायो भन्ने नेपालीलाई थाहा छ किन्तु चुनाउपिच्छे तोर्मे चोट्टाहरूलाई जिताउँछौं । हामीमा कुन ग्रन्थीले काम गऱ्यो पत्तै भएन । गाँडतन्त्रवादीको एकछत्र राजलाई राजावादीले चेक एन्ड व्यालेन्समा राख्दो । युरोपेली/अम्रिकाने सम्पन्न हुनु हुने; हामी चैं किन नहुनु हुने ? आफ्नो मुलुक/मुलुकवासी समृद्ध होस् भन्ने चाहना हुनु स्वभाविक हो परन्तु परतन्त्र/परजीवी सोच, धीरताको अभाव र लगनशीलताको कमी आदि तत्वहरूले हाम्लाई पछाडि पारेको पो हो कि ?

कुमान्छेको छायाँ नपर्नु अहोभाग्य । अरूलाई केमा आनन्द आउँछ ? त्यो थाहा भएन । मलाई त दुर्जनसितको कुसंगत त्याग्नाले आनन्द आउँछ । अर्को जस्तो म किन हुनुपरो र ? मेरो आफ्नै धारणा, विचार र सिद्धान्त छ । डलरले दाह्री र गोक्तेलाई किन्यो कि क्याहो (?!) । गीत गाएकै गाएछन् । पैसोले मान्छेको ईमान, आबरु र सिद्धान्त किनेर निकम्मा बनाउँदो रहेछ ।

उपाध्याय बाहुन आफ्नो थान्कोमा बस्न छाड्या हुन् र ? जातिवादी कुरो उठ्न सक्ला । युरोपमा नि १८ औं शताब्दीसम्म जाति प्रथा थियो । साहित्यकार Oliver को थर नै Goldsmith । उनीहरूले जात साँघुर्याएर पुरुष र नारीमा सीमित गरे ; उन्नति भरे । हाम्रोमा जाति प्रथाको अवशेष रहे नि व्यवस्थित गर्नुपरो नि । अर्कोलाई बाधा नपारेमा जातिवादले के लछारपाटो लाउन सक्ला र ? ब्राह्मण भएर अध्ययन/अध्यापन गर्नु पर्नेमा नानाथरीका पेशा अपनाउँदा छन् ; भक्ष्याभक्ष्य खाँदा छन् । मास्तिर जाने ठाउँ पाइएन भनेर तल्तिर खस्दा छन्  । जस्तो मति उस्तो गति । त्यसैले धर्मशास्त्रले १० थरी बाहुनको व्याख्या गरेको ।

भाइरल वा क्रान्तिकारी हुने नाऊँमा जसले जे नि बकेको देखिन्छ । कृष्ण शिवको थर छैन ; मान्छेको थर किन राख्नु परो र भन्दै डुक्रन्छ – लालबुझक्कड । के भगवान , मानव र दानव एकै हुन सक्छ र ?

संस्कृत भाषालाई देव भाषा भनिन्छ । विगतको पाठ्यक्रमले कक्षा ७ सम्म संस्कृत अध्यापनको व्यवस्था गरेको थियो । नीतियुक्त संस्कृत पढेर तत्कालीन शिक्षार्थीहरू नैतिकवान् । आफ्ना पितामाता, गुरूजन र अग्रजहरूको श्रध्दा गर्ने र अनुजहरूलाई स्नेह गर्ने । अहिले संस्कृत बिषय छैन; विद्यार्थीहरू अनुशासित रहन छाडे । अभिभावकलाई चोकमा गुड्डी हाँक्न र परनिन्दा गर्न फुर्सद छैन । अनि कहाँबाट गतिलो फल उत्पादन हुने हो र ? यस्तै ताल रहिरहने हो भने अबको ५० वर्षमा हामी परम्पराविहीन, संस्कारविहीन, अनुशासनविहीन हुने यथार्थमा सन्देह रहोइन ।

उतिबेला शिक्षाको ठुलो महत्व । मैले पढेको संस्कृत पुस्तकमा यी पङ्क्ति- द्वारा विद्याको महिमा बताइएको थियो ।

न चौरहार्य न च राजहार्य , न भ्रातृराज्यं न च भारकारि ।

व्यय कृते वर्धत एवं नित्य , विद्या धनं सर्वधन  प्रधानम् ।।

(चोरले विद्या न चोर्न सक्छ न त राजाले छिन्न सक्छ । न त भाइ-भाइमा भाग लाग्छ न त यो भारी हुन्छ । विद्या दान गरेमा बढ्दै जाने हो; यसैले विद्यारुपी धन सबै धनहरूमा प्रधान छ ।)

विद्या मित्रं प्रवासे च  भार्या मित्रं गृहेषु च ।

व्याधितस्यौषधं  मित्रं धर्मो मित्रं मृतस्य च ।।

(परदेशमा विद्या मित्र, घरमा पत्नी मित्र, रोगीलाई औषधि मित्र अनि मरेसि मनुष्यको निम्ति धर्म मित्र हो ।)

रूपयौवनसम्पना विशालकुलसम्भवा : ।

विद्याहीना न शोभन्ते निर्गन्धा इव किंशुका ।।

(उच्च कुलमा जन्मेर सुन्दरता हुँदाहुँदै नि विद्या नभई दिनाले त्यो मान्छे पलाँसको फूल झैं वासनाहीन हुन्छ ।)

येषां न विद्या न तपो न दानं , न चापि शीलं न गुणो न धर्म : ।

ते मृत्युलोके भुवि भारभुता , मनुष्यरूपेण मृगाश्चरन्ति ।।

 (विद्या , तप , दान , शील , गुण र धर्म नभएको मान्छे पृथ्वीको भार हो जो मनुष्यरूपमा मृग झैं बरालिन्छ । )

एकेनापि सुपुत्रेण विद्यायुक्त्तेन साधुना ।

आल्हादितं कुलं सर्व यथा चन्द्रेण शर्वरी ।।

(साधु स्वभावको विद्यायुक्त्त छोरोले रातीको चन्द्रमा झैं कुललाई आनन्दित तुल्याउँछ ।)

 कुग्रामवास : कुलहीन सेवा , कुभोजन क्रोधमुखी भार्या ।

 पुत्रश्च मूर्खो विधवा च कन्या , विनाग्निना षट प्रदहन्ति कायम् ।।

(कुगाऊँको बास, कुलहीनको सेवा, कुभोजन, रिसाही पत्नी, मूर्ख छोरो र विधवा छोरी- यी छले आगो बिना नै शरीर जलाउँछन् ।)

एकोsपि गुणवान् पुत्र निर्गुणैश्च शतैर्वर : ।

एकश्चन्द्रस्तमो जन्ति न च तारा : सहस्रश : ।।

(सय जना बैगुनी छोराहरूमा एक जना गुनिलो छोरो श्रेष्ठ हुन्छ किनकि हजारौं ताराहरू भए नि आकाश उज्यालो देखिन्न तर एउटै चन्द्रमाले अँधेरो हटाउँछ ।)

मूर्खश्चिरायुर्जातोsपि तस्माज्जातामृतो वर : ।

मृत : स चाल्पदु : खाय यावज्जीवं जडो दहेत् ।।

(मूर्ख छोरो जन्मदैमा मरे हुन्छ ताकि उसले जीवनपर्यन्त तनाऊ नदेओस् ।)

काकचेष्टा वकोध्यान , श्वान निन्द्रा तथैव च ।

अल्पाहारी गृहत्यागी , विद्यार्थी पञ्च लक्षणम् ।।

(कौवाको चतुऱ्याइँ, बकुल्लाको ध्यान, कुकुरको निन्द्रा, अल्पाहार र गृहत्याग- यी ५ लक्षणहरू असल विद्यार्थीहरूको गुणहरू हुन् ।)

सित्तैमा केही लिनुहुन्न , स्वतन्त्रता चुकाउनु पर्छ भन्ने दृष्टान्त त दक्षिण अफ्रिकाले दिईसक्यो । त्यहाँको एक महत्वपूर्ण व्यक्तित्व डेसमण्ड टुटुले ( १९३१ – २०२१ ) भनेका थिए, ‘क्रिश्चियन मिशनरी दक्षिण अफ्रिका आउँदा उनीहरूसित बाइबल र हामीसित जग्गाजमीन थियो । उनीहरूले हामी तिमीहरूको लागि भगवानसित प्रार्थना गर्न आएका हौं भने । हामीले आँखा बन्द गरेर खोल्दा त उनीहरूसित जग्गाजमीन र हामीसित बाइबल थियो ।’ कति पोयो बाँट्नु ? बाउसे सकियो । आजलाई मैजारो । अस्तु !