आफैं बन आफ्नो सहारा

आफैं बन आफ्नो सहारा


लडेकालाई उठाउ
ऊ उठ्दा खुट्टा धर्मराए भने
दायाँबायाँ उभिएर आड देउ
कमजोरलाई माया गर ।

कसैलाई असहाय नछोड
उसको दृष्टिमा तिमी कुपात्र नै रहेछौ भनेपनि
उसलाई लामो सुस्केराबाट स्वास भर्न देउ
झार्नै पर्ने भए
शक्तिशाली बनाएर झार।

ऊबाट लिनु छ भने
पहिले आफूले दिनु पर्छ
अनि उचित समयको प्रतीक्षा गर्नु पर्छ
किनकि भद्रताको विजय दीर्घजीवी हुन्छ।

माछाको शक्ति सागरमा जाँचिन्छ
शिखरको पहुँचले मात्र खाडीको सम्भावना दिन्छ
खाडीको बस्तुलाई झर्नु हुँदैन
समयको पहिचान मानिस आफैं हो।

सचेत बन माथि जाने सहारा नखोज
जसले सहारा दिन्छ उसैले तल झार्न जानेको हुन्छ
समयको गतिसँग तालमेल मिलाउ
आफ्नो सहारा आफूभित्र उमार
पिठ फेरिन समय लाग्दैन ।