नेतन्याहूले बन्धक रिहा गराउने ‘ऐतिहासिक अवसर’ गुमाएको बन्धक परिवारको आरोप

नेतन्याहूले बन्धक रिहा गराउने ‘ऐतिहासिक अवसर’ गुमाएको बन्धक परिवारको आरोप


गाजा क्षेत्रमा बन्धक बनाइएका परिवारको प्रतिनिधित्व गर्ने मुख्य समूहले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरूलाई रिहा गर्ने ‘ऐतिहासिक अवसर’ गुमाएको आरोप लगाएका छन् ।

‘गाजामा बढ्दो आक्रमण र अमेरिकी राष्ट्रपति ट्रम्पको यस क्षेत्रको भ्रमणको आसन्न समापनको बारेमा रिपोर्टहरूको प्रकाशमा बन्धकका परिवारहरू भारी हृदय र ठूलो चिन्ताका साथ आज बिहान उठेका छन्’- बन्धक र बेपत्ता परिवार फोरमले एक विज्ञप्तिमा भनेको छ।

“यो ऐतिहासिक अवसर गुमाउनु एउटा ठूलो असफलता हुनेछ, जुन सदाका लागि बदनामीमा स्मरणीय रहनेछ,” समूहले भनेको छ।

राष्ट्रपति ट्रम्पले शुक्रबार बिहान अबु धाबीमा मध्यपूर्वको आफ्नो चार दिने भ्रमण पूरा गर्ने तयारी गरिरहेका बेला गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको जनाएको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार यसै महिनाको सुरुमा गाजा क्षेत्र पुनः कब्जा गर्ने योजनालाई सरकारले अनुमोदन गरेपछि सेनाले गाजामा आफ्नो आक्रमणलाई तीव्र बनाएको थियो ।

“गाजा पट्टीमा हवाई आक्रमण बढेकोबारे आज बिहान आएको रिपोर्टले दिशा सही रहेको सङ्केत गरेको छ,” बन्धक परिवारको समर्थन समूह टिक्वा फोरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“सैन्य दबाब अझ बलियो हुनुपर्छ, उच्च तीव्रताका साथ कूटनीतिक दबाब, पूर्ण घेराबन्दी, पानी र बिजुली अवरोधसँगै समन्वय पनि गर्नुपर्दछ,” समूहले भनेको छ ।समूहले बाँकी सबै बन्धकहरूलाई एकै चरणमा रिहा गरिने वातावरण बनाइने आशा समूहले गरेको छ ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी समूह हमासले इजरायलमाथि आक्रमण गर्दा करिब २५१ जनालाई बन्धक बनाइएको थियो । तीमध्ये ५७ जना अझै गाजामा रहेका छन् भने तीमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले पुष्टि गरेको छ ।

ट्रम्प प्रशासन र हमासबीच भएको सम्झौतामा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक इदान अलेक्जेन्डरलाई मङ्गलबार रिहा गरिएको थियो ।