यताउतिका गन्थन मन्थन

यताउतिका गन्थन मन्थन


श्री सरस्वतै नमोनम : । श्री गणेशाय नमोनम : । कुराजनीतिले मुलुकको ढुकुटी रित्याउँदो । अनुशासित/पारदर्शी राजनेता भईदिए पो देशले फड्को मार्दो । नाम चैं गणतन्त्र काम चैं अधिनायकतन्त्र । उफ्फ ! राष्ट्रपति/प्रधानमन्त्री दलगत, तटस्थ भूमिका निर्वाह गर्न नसक्ने । चर्चिल तौलेर बोल्ने उनको भाषण अनमोल । हाम्रोले त हावा कुरा गर्ने कसले पत्याउने ?

विदेशिएको ठेट्नो नेपाल फर्किंदा आफूलाई सर्वज्ञाता ठान्दो । परदेशमा चिहान खन्थ्यो कि शौचालय सफा गर्थ्यो; यहाँ आएर फुइँ देखाउँदो ।  मान्छेको बेहोर हेरि नसक्नुको । उसको नजरमा आफू सद्दे अरू पागल । फ्रायड पनि यस्तै थियो; बहुलाएर मर्यो । जमाना नि कस्तो कस्तो ?! सोझो रुख काटिने; बाङ्गो रुख नकाटिने । रक्स्याहा, भ्रष्टाचारी, व्यभिचारी, पापाचारी सद्दे; सोझासाझा विसद्दे । मान्छेले सजाय दिन नसकेकालाई भगवानले सजाय दिंदा । यसैले Man proposes God disposes भनिएको । फुर्ति लाउनु परोइन । मलाई त कटु आलोचकसितको नजिक्याइँ फाप्दैन पो । पन्ध्र-बीस दिन लाहोर घुमेर आएसि मकैको पातलाई ‘माँजी, यह लम्बी लम्बी पात क्या है..?’ भनेर लाहुऱ्याइँ देखाउने महोदयहरू हाम्रो समाजमा मनग्गे भेटिंदा ।

पाप/पुण्यको छ्यानब्यान गर्न नसक्ने त जन्तु नै हो नि । अम्लीय हैन; क्षारीय खाद्य वस्तु खाएमा अर्बुद बिमारी नहुने विज्ञजनको सुझाउ । याज्ञवल्क्यसितको शास्त्रार्थमा गार्गी पराजित । अहिले नि त्यही पारा । शिक्षितदीक्षित भए नि कुरो चिप्लेको चिप्ल्यै । स्वत्व नइखे; परत्वाधीन । नटबल्टु कस्नुपर्ने बिल्टु चपेटावृन्द । नकारात्मक मनुवासितको संगति भन्दा एक्लो हिँडेको बेस ।

भगवान श्रीकृष्णले ‘ परधर्मो भयावह ‘ यस्सै भन्नुभएको रहेनछ । व्यवहारमा जटिलता; अफापसिद्ध । सच्चा पिरिम भन्या त रोमियो – जुलियटको । अहिले त माया कसमको बेसाहा सस्तिदों । प्रेमी-प्रेमिका नै रक्तपिपासु । कलि मस्त नहुँदै के देख्नुपऱ्या हो ? ४५ दिन नकट्दै किरियापुत्र भक्ष्याभक्ष्य खाँदो-पिउँदो । दुई दिने जिन्दगानी भन्या त आफू छऊञ्जेल मात्र हो । जिम्दा त छोराछोरीले वृध्दाश्रम पुऱ्याउँदा मरेसि यिनले के सम्झेलान् र ? श्राद्धपराध्द गोलीमार भन्न के बेर ?

आयाराम गयाराम । विसंगति/विकृति उधिनी के साध्य ? छयालीसमा प्रजातन्त्र आउँदा छडीको जादु झैं आमूल परिवर्तन हुन्छ भनेर पञ्चसित मच्चिई मच्चिई बहस गरेको वृथाभिमान जस्तो लाग्छ । हाम्ले सीमा नमिचे नि चीनले हुम्लामा र भारतले ताप्लेजुङदेखि सुस्ता हुँदै दार्चुलासम्म सीमा अतिक्रमण गर्दै गोविन्दहरूलाई शहीद बनाउँदो । मिचाहा कुमेकीहरू । सत्ताधारीहरू नि कस्ता पानीमरुवा (?!)  परेछन् भने चीन र भारतसित कड्केर प्रतिवाद गर्न नसक्ने । मुखले भन्दैमा कोही नि राष्ट्रवादी हुन्न; व्यवहारमा झल्किनुपरो नि । न्यायालयको छवि धुमिल्याउन फेरि को निस्क्यो ?!

मान्छे त राम मान्ने नि छन् रावण मान्ने नि छन् । जे होस् अत्याचारीको भन्दा नि सदाचारीको गुणगान गाऊन बेस होला । हलेदो चिनेसि नकोट्याएकै राम्रो । दुर्जनलाई किन डाक्नुपरो र ? स्वार्थिलो दुनियाँ; स्वार्थ बाझेसि सबकुछ चैट ! मुखले राम राम बक्ने र बगलीमा छुरा बोक्ने बग्रेल्ती कुमान्छेहरू । यस्ता जीवहरू समयचक्रमा हाडा लाग्दा छन् ।

कुलतीहरूलाई कुलत छोड्न गाह्रोसाह्रो । कुलत चक्रव्युह/दलदल हो । यसमा फसेको मनुवा उत्रिन कठिनप्राय । यस परिप्रेक्ष्यमा सान्दर्भिक होला भनेर एउटा लघुकथा पस्कँदो छु; कस्तो लाग्छ आफ्नै विवेक अजमाउनु होला । एक जना कुलती कुटीमा गएर साधुसित भन्यो- ‘बाबा, मैले रक्सीको अम्मल त्याग्न सकिनँ; उपाय बताई दिनोस् न ।’ प्रत्युत्तरमा साधुले भन्नु भो- ‘एक सप्ताहपछि यहाँ आऊ ।’ एक सातापछि त्यो अम्मली कुटीमा पुगेर साधुलाई बोलायो । त्यत्तिखेर साधु कुटीको खामो समातेर बस्नुभएको थियो । उहाँले उसलाई डाकेर भन्नु भो, ‘हेर न बाबु, यो खामोले मलाई पक्रेको छ; कसरी म बाहिर जाऊँ ?’ कुलतीले साधुलाई हेर्दै भन्यो- ‘बाबा, तपाईं झुटो बोल्दै हुनुहुन्छ । खामोले तपाईंलाई हैन; तपाईंले चैं खामो समात्नुभएको छ ।’ साधुले हाँस्दै भन्नु भो- ‘लाटा, रक्सीले तपाईंलाई कहाँ पिएको छ र ? तपाईंले पो रक्सी पिउनु भएको ।’ साधुले यत्ति भनेसि अम्मली लजायो । अनि उसले सदाको लागि रक्सी त्याग्यो, सुध्रियो । कुलत कतिपय; आफै चिन्तन मनन गर्न सक्नुहुन्छ । कुलतीलाई सम्झाउँदा ऊ वैरी बन्न नि सक्छ वा मित्रु बन्न नि सक्छ । मानवीय कर्तुतबारे शेषनागले त बताउन नसक्लान्; मैले कसरी सकुँला र ? कुरा गऱ्यो कुराकै दु:ख । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !