अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या विद्युतविहीन बनेका छन् ।
केन्टुकीका गभर्नर यान्डी बेशरलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार आँधीका कारण केन्टुकीमा १४ जना र मिसौरीमा सात जनाको मृत्यु भएको छ ।
केन्टुकीको दक्षिणपूर्वमा रहेको लरेल काउन्टीमा स्थानीय समयअनुसार शनिबार बिहान आँधी आएको थियो । अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।
मिसौरीका अधिकारीहरूले शुक्रबारको आँधीबेहरीका कारण पाँच हजारभन्दा बढी भवनमा क्षति पुगेको बताएका छन् । क्षतिग्रस्त घरका छाना उडेका छन् भने विद्युत् सेवा अवरुद्ध भएको छ ।
सेन्ट लुइसमा करिब एक लाख घरहरु विद्युत कटौतीका कारण प्रभावित भएका छन् । हावाहुरीले बढी प्रभाव पारेका स्थानहरुमा घरघरमा गएर निरीक्षण भइरहेको बताइएको छ ।
प्रतिक्रिया