इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय

इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय


इरानको सर्वोच्च अदालतले अल्लाहलाई निन्दा गरेको आरोपमा तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुश्लिम धर्म र यसका पवर्तकको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

सर्वोच्च अदालतले त्यो फैसलालाई उल्टाउँदै मुद्दालाई अर्को अदालतमा पठाएको थियो र त्यहाँबाट उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

यो फैसला कार्यान्वयनका लागि तयारी भइरहेको त्यहाँको न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले जनाएका छन् ।

ती इरानी गायकमाथि ‘भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको’ र इस्लामिक गणतन्त्रविरुद्ध ‘प्रोपोगान्डा’ फैलाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको थियो र अहिले उक्त सजाय भुक्तानी गरिरहेका छन् ।

तातालुलाई दिवंगत राष्ट्रपति इब्राहिम राइसीलगायत रूढिवादी राजनीतिज्ञहरूको सहयोग रहेको थियो । सन् २०१५ मा उनले आणविक सम्झौताको समर्थनमा एउटा गीत सार्वजनिक गरेका थिए जसलाई उदारवादी हसन रुहानीको शासनकालमा सरकारी सञ्चारमाध्यमले प्रचार गरेका थिए ।

पक्राउ र सुपुर्दगी गर्नुअघि सन् २०१८ देखि तातालु इस्तानबुलमा बस्दै आएका थिए ।