नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाका बारे भ्रामक र कपोलकल्पित समाचार प्रकाशित भएको भन्द नेपाली कांग्रेसले आफ्नो गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ ।
सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलब्धि अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वर्द्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनुभएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्था बारे उहाँको धारणा भनि संचारमाध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहिँकतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसंचारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावनाविपरीत हो । जोसुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ । नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई रक्षा गर्न प्रतिवद्ध रहेको दोहोऱ्याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई अपिल गर्दै अव्यक्त कुरा संचारमाध्यममा सम्प्रेषण नगर्न संचारकर्मी मित्रहरुलाई आग्रह गर्दछ ।’
प्रतिक्रिया