तीनकुने प्रकरणमा १०८ जनालाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय

तीनकुने प्रकरणमा १०८ जनालाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय


गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्था पक्षधर समूहद्वारा भएको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सो घटनामा संलग्न १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको जानकारी दिँदै परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले आरोपीलाई फरकफरक मुद्दा चलाउनुपर्ने राय दिइएको बताए । झण्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो ।

आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका मुद्दा चलाउनुपर्ने प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

गएको चैत १५ गते राजसंस्था पक्षधरहरूको प्रदर्शन एकाएक हिंसात्मक बनेको थियो । उक्त घटनामा दुई जनाको मृत्युसमेत भएको थियो । त्यस घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका व्यक्ति आरोपी छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार (९ जेठ) मुद्दा दर्ताको तयारी गरेको थियो । तर, समय अभाव भएकाले अब आइतबार दर्ता गर्ने तयारी गरिएको जनाइएको छ ।