ऊ बेलामा संस्कृतका विश्वविद्यालय, विद्यालय जलायौ । संस्कृतका किताब जलायौ । संस्कृत पढाउने मास्टरलाई रुखमा झुण्ड्याएर खत्तम पाऱ्यौ बुढा ! यो बुर्जुवा शिक्षा पढेर काम छैन भन्दै स्कुलमा नैतिकताको पाठ पढ्दै गरेका केटाटीहरूलाई बन्दुक बोक्ने अनैतिक काममा लगायौ, अब आएर तिनले नैतिकता सिकेनन् भन्छौ ! फोहर गरिसकेपछि दैलो पनि देख्ने काम भयो प्रचण्ड बाजे !
✍ कृष्णराज शर्मा
हिजो रुकुमबाट बागलुङ प्रवेष गरेका प्रचण्ड बाजे आज बागलुङ बजार आए । उनलाई आजभन्दा सत्र वर्षअघि बागलुङमा देखेको थिएँ । सत्र वर्षअघिको प्रचण्डमय बागलुङ र आजको बागलुङमा तुलनै भएन । कहाँको ०६४ को प्रचण्ड राजाराम अनि कहाँ यो ०८२ को प्रचण्ड गणेभँडारी ! फिटिक्कै नमिल्ने । आकाश जमीनको फरक ।
उसबेला उनको आगमनपूर्व पर्चा–पोष्टरले बागलुङ पूरै ढाकिएको थियो । अनि राजा ज्ञानेन्द्रलाई हत्कडीसहित जेलको झ्यालबाट बाहिर चिहाएको पोष्टर टाँसेर बागलुङ बजार भरिएको थियो । यिनै राजालाई खुब गाली गरे आमसभामा । हो, यही राजाले देश खत्तम पारेको रहेछ भन्ने भ्रम भाषणमा छाँट्नु छाँटे । धौलागिरी क्याम्पस (महेन्द्र क्याम्पस)को प्राङ्गणमा भरिएका उनका समर्थकहरूले राजालाई दुत्कार्नुसम्म दुत्कारेको भनाइलाई पररररर्र ताली पड्काएर समर्थन गरे ।
तर आज उनी बागलुङ आउँदा त्यो तामझाम देखिएन । सबै समान्य रह्यो । पूर्वप्रमको हैसियतले स्वतः उत्पन्न हुने आकर्षणबाहेक केही देखिएन । पञ्चबाजा जो जहाँ आए’नि बजिहाल्छन् । खादामाला जस्ताका घाँटीमा पनि झुण्डिहाल्छन् । यो स्वाभाविक पनि भयो । अनि आज पनि राजा महेन्द्रकै नाम झल्किने पहिला महेन्द्रको शालिकको पछाडि (अहिले यहाँ नरभक्षी बाघको शालिक छ) अडेस लगाएर उनको जनजागरण अभियानअन्तर्गत जनसम्वाद कार्यक्रमलाई सम्बोधन गरे । राजाका बारेमा केही पनि बोलेनन् । बरु, उसबेलाजति अब आउने चुनावमा माओवादीलाई भोट दिनुस्, चौथोचोटी प्रधानमन्त्री भएर दिनमा पचास लाख हसुर्नेदेखि सबै भ्रष्टचारीलाई ठेगान लाउँछौँ भने । तर, उसबेलाजस्तो पररररर्र तालि पड्कने हात पनि भएनन् र भएकाले हात पड्काउँदा परररर्र आवाज पनि आएन !
आजको जनसम्वादमा केही रेडिमेड प्रश्नकर्ताले जिज्ञासा राखे । प्रचण्डले सुने । सुनेपछि प्रश्नका जवाफ फर्काए बाजेले । जवाफ सुनेर सबै वाल्ल परे । ८५० मेघावाटको उत्तरगंगा जलाशय बनाउने । युवाहरूलाई स्वदेशमै अल्झाउने तथा नेपालभर र विश्वभरी फैलिएका बागलुङेलाई नेपालमै आकर्षित गर्ने जस्ता स्वादिला र चोपिला भाषण गरे । यो सबै सुनेर सबै वाल्ल परे । वाल्ल पर्नुमा उनी सत्तामा छन् कि प्रतिपक्षमा भन्ने उपस्थितहरूले भेउ नपाएर हो कि के हो बुझ्न सकिएन !
त्यसपछि पनि प्रचण्ड बाजेले खुब हँसाए ! ‘नेपाल खत्तम भयो, यहाँ केही हुन्न नेताहरू सबै चोर हुन् भन्ने भाष्य बनाएर नेतालाई गालीमात्र गर्न थालियो । यस्तो भाष्य बनेको छ कि अथवा न्यारेटिभ भन्छन् नि…’ भन्दा मञ्चअगाडि बसेका चुप्प रहे तर वरिपरि उठेका सबै गललल्ल हाँसे ! अझ अनौठैले हाँस्ने त त्यसबेला पारे बाजेले कि लौ नैतिक शिक्षा नभएर समाज अराजक भयो भने ! युवाहरूले सामाजिक संजालमा मनपरी लेख्न थाले । त्यसैले अब नैतिक शिक्षामा जोड दिनुपर्छ के भनेका थिए म बसेतिर यति हाँसे कि मान्छे, के भनौं ! मरिजाम उनीहरू खितितित्त हाँसेको हाँस्यै भए !
मसंगसंगै बसेकालाई किन हाँसेको भनेको त उल्टै चोर औंला बन्द ओठमा टेकाएर चुप् पो भन्छन् । म पनि चुप लाएर सुनेझैँ गरेँ । अनि मनमनै सोचेँ- ओई प्रचण्ड बाजे ! ऊ बेलामा संस्कृतका विश्वविद्यालय, विद्यालय जलायौ । संस्कृतका किताब जलायौ । संस्कृत पढाउने मास्टरलाई रुखमा झुण्ड्याएर खत्तम पाऱ्यौ बुढा ! नैतिकताको पाठ पढ्ने भनेकै संस्कृतका किताबबाट हो । नेपालीमा लेखेका किताब भएपनि त्यही संस्कृतका ग्रन्थबाट उतारिएका नै हुन् । अझ केसम्म भन्यौ भने प्रचण्ड बाजे ! यो बुर्जुवा शिक्षा पढेर काम छैन भन्दै स्कुलमा नैतिकताको पाठ पढ्दै गरेका केटाटीहरूलाई बन्दुक बोक्ने अनैतिक काममा लगायौ, अब आएर तिनले नैतिकता पढाएर पढ्लान् फेरि, खोई …? अहँ मैले त पत्याउन्न ! अब त बानी बिग्रियो केटाहरूको बाजे ! फोहर गरिसकेपछि दैलो पनि देख्ने काम भयो प्रचण्ड बुढा ! अब जति पढाए पनि हुन्न ! ड्याम्म पड्काए जस्तो किताबका ज्ञान दिमागमा घुसाएर अडाउन कहाँ सजिलो छ र ? हुन्न ! अहँ… हुन्न बाजे !
हामीले नैतिकताको पाठ पढ्दा श्रवणकुमारले बुढा भएका बा-आमालाई तीर्थब्रत घुमाउन लैजान्थे भन्ने पढियो । पढ्नेले पढेअनुसार आफ्ना बाबा-आमाको स्याहारसुसार ओखतीमुलो पनि गरेका छन् । प्रचण्डबाजेको व्यवस्था आएपछि यस्ता कुरा पढ्न पनि छोडे, गर्न पनि छाडे । सेवा गर्ने ज्ञान पनि हरायो । संस्कृतका विद्यालय बन्द गरेर धमाधम वृद्धाश्रम खुल्न थाले । बाउआमा बुढाबुढी भए भने तिनै नयाँ खुलेका वृद्धाश्रममा लगेर हुल्दियो छोड्दियो, कति आनन्द ! किन चाहियो नैतिक शिक्षा ?
मनमनै यस्तै के-के सोच्दै टोलाएछु । टोलाउँदाटोलाउँदै विगतमा नेपालीका अनेक पीडादायी कथा अनि कुराहरू सम्झेछु ! कसैले कोट्याएछ मलाई, झल्यास्स भएँ म ! उता मञ्चतिर हेर्छु त, प्रचण्ड बाजेले आफ्नो दाहिने हात टाउको माथि पुऱ्याएर मेरो भाषण सक्कियो भने अनि म पनि जुरुक्क उठेर घरतिर लागेँ ! सबैको जयहोस् ! धन्यवाद !
प्रतिक्रिया