पूर्व राष्ट्रपति एवम् नेकपा एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीबाट छिमेकी मित्रराष्ट्र चीनको भ्रमण हुने विषयलाई लिएर नेपालमा अनेकौं टिप्पणी र चर्चा सुरु भएको छ । नेतृ भण्डारी जेठ १० देखि १९ गतेसम्म चीनको भ्रमणमा रहनुहुने छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा ’छिमेकी देशहरूसँग साझा भविष्य निर्माणमा राजनीतिक दलहरूको भूमिका’ विषयमा बेइजिङ्गमा आयोजित विशेष समारोहलाई भण्डारीले मुख्य वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेठ १२ गते आयोजना गरिने उक्त समारोह राजनीतिक तथा रणनीतिक दृष्टिले निकै महत्वपूर्ण हुने ठानिएको छ ।
राजनीतिक दलहरूको भूमिकाको बारेमा आयोजित छलफलमा नेतृ भण्डारीको प्रतिनिधित्व हुनुलाई नेपालमा विशेष अर्थपूर्ण मानिएको बुझिन्छ । नेकपा एमालेको भावी अध्यक्षका रूपमा समेत चर्चामा आउनुभएकी नेतृ विद्यादेवीबाट छिमेकी देशहरूका ‘राजनीतिक दलहरूको भूमिका’ विषयक कार्यक्रममा विशेष सहभागिता जनाइनुलाई नेपालमा चासोका साथ हेरिएको छ ।
नेतृ भण्डारीले जेठ १६ गते चीनको गाङ्सुमा आयोजना हुने समारोहलाई पनि प्रमुख वक्ताको हैसियतमा सम्बोधन गर्नुहुनेछ । चिनियाँ अन्तर्राष्ट्रिय समझदारी सङ्घ (CAIU) को तत्वाबधानमा ’रेशम मार्ग (silk road) को मूल भावनालाई आत्मसात गर्दै विश्व सभ्यता संरक्षणको कार्यान्वयनमा गति प्रदान गर्न सहकार्य जुटाउनेु शिर्षकमा आयोजित समारोहलाई नेतृ भण्डारीले सम्बोधन गर्नुहुनेछ । स्मरणीय छ, प्राचीन कालमा चीनको ब्यापारिक केन्द्र रहेको गाङ्शुबाट नै रेशम मार्गको प्रारम्भ हुन्थ्यो । चीनले उक्त मार्ग र शहरलाई आधुनिकता सहित पुनः सक्रिय गराउन खोजेको छ ।
बेइजिङ्गमा रहनुहुँदा पूर्व राष्ट्रपति भण्डारीले चीनका उपराष्ट्रपति लगायत कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरूसङ्ग भेटवार्ता गर्नुहुने भएको छ । राष्ट्रपति सी जिन पिङ सङ्ग समेत भेटको पहल भैरहेको भएपनि अहिलेसम्म यकिन हुन नसकेको नेपालको परराष्ट्र मन्त्रालय सूत्रले जनाएको छ ।
नेतृ विद्यादेवीको भ्रमण टोलिमा एमाले नेताहरू रघुवीर महासेठ, दामोदर भण्डारी, कर्णबहादुर थापा, शहीदपत्नी गोमा देवकोटा र देवीप्रकाश भट्टचन रहेका छन् । त्यसैगरी मदन भण्डारी फाउण्डेसन सम्बद्ध डा. कैलाश भण्डारी, भेषराज अधिकारी, विनय केसी र डा. महेन्द्र बिष्ट पनि भ्रमण दलमा सामेल हुनुहुन्छ । उहाँहरू जेठ १९ गते स्वदेश फर्कनुहुने बताइएको छ ।
प्रतिक्रिया