नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तोकिएको समयभन्दा एक वर्ष ढिलागरी सबै जिल्ला कमिटीका अधिवेशन सम्पन्न गरेको छ । धनुषा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएसँगै सो पार्टीका सबै जिल्लाका अधिवेशन सम्पन्न भएका हुन् ।
विसं २०८१ जेठ महिनाभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने समय तोकिएको थियो । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले धनुषामा अधिवेशन सम्पन्न भएसँगै सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको जानकारी दिए । यही जेठ महिनाभित्र जनसङ्गठनको महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको उनले बताएका छन् ।
निर्वाचन आयोग अध्यक्ष डा. सुब्बाका अनुसार अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घलगायतको महाधिवेशन गर्न बाँकी रहेको छ । ठूला जनसङ्गठनको १५१ केन्द्रीय कमिटी र साना जनसङ्गनठको ९९ केन्द्रीय कमिटी बनाउन पार्टीले निर्देशन दिएको छ ।
प्रतिक्रिया