‘जापान भ्रमण उपलब्धिमूलक’ : परराष्ट्रमन्त्री

‘जापान भ्रमण उपलब्धिमूलक’ : परराष्ट्रमन्त्री


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताउनुभएको छ ।

जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उहाँले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल– जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिनुभयो । उक्त भेटवार्ताहरु मुलुकका लागि उपलब्धिमूलक रहेको जानकारी दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री डा. राणाले भन्नुभयो, ‘यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयका साथै नेपालमा जापानको सहयोग र परियोजनाका बारेमा कुराकानी भयो । त्यस्तै सम्मेलनमा ज्येष्ठ नागरिकहरुका सम्बन्धमा अन्य देशहरुले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाका बारेमा पनि जान्ने मौका मिल्यो ।’

परराष्ट्रमन्त्री डा. राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच यही जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस भेटका अवसरमा नेपाल-जापान द्विपक्षीय सम्बन्ध, आपसीहित र साझा चासोका विविध विषयमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी मन्त्री डा. राणाले यही जेठ ९ गते जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा तानाका अकिहिकोसँग पनि भेटवार्ता गर्नुभएको थियो । सो भेटमा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिकलगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै जाइकाको सहयोगमा नेपालमा सञ्चालित र सम्पन्न परियोजनाका बारेमा कुराकानी गर्नुभएको थियो ।

यसअघि उहाँसँग जापानका उपविदेशमन्त्री इकुइना अकिकोले पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । गत हप्ता नेपालमा आयोजित सगरमाथा संवादमा सहभागी हुनुभएकी उपविदेशमन्त्री अकिकोलाई मन्त्री डा. राणाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

जापानमा रहँदा मन्त्री डा. राणा टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी एक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन पनि गर्नुभएको थियो । उहाँ गत सोमबार जापान जानुभएको हो ।