दिन कसरी फर्काउने ?

दिन कसरी फर्काउने ?


सुख प्राप्त भएपछि खुशी मिल्छ भन्ने विश्वासका साथ पृथ्वीका अर्बौं मानिस सुखको खोजीमा निरन्तर भौंतारिइरहेका हुन्छन् । दुःखलाई मित्र ठान्न मानिस कहिल्यै तयार हुँदैनन् र सुखलाई स्थायी मित्र बनाउन नसकिने यथार्थप्रति चाहिँ उनीहरू अनजान रहन्छन् । सुख देहसँग सम्बन्धित छ र देहमार्फत खुशी प्राप्त गर्ने प्रक्रियामा आफू रहेको हेक्का राख्ने चेतना पनि अधिकाङ्श सुखका शिकारीहरूमा भेटिँदैन । ‘सु’ भनेको अनुकुल र ‘ख’ भनेको सिङ्गो आकाश हो, सिङ्गो आकाशलाई नै आफ्नो अनुकुल बनाउने चाहना नै सुख हो, त्यसर्थ यो भौतिकवादी सोच हो । सुख तनसँग र खुशी मनसँग सम्बन्धित रहन्छ भन्ने जानकारी भएकाहरूको दौड पनि खुशीभन्दा सुखप्राप्तिमै केन्द्रीत रहन्छ, जबकि मन खुशी नभएसम्म सुखप्राप्तिको बोध हुन सक्नेछैन !

आम मानिसमध्ये कतिपय आफू जन्मिएको स्थान गलत भएर दुःख पाएको ठान्छन् भने कतिले गलत परिवारमा पैदा भएर दुःख भोग्नुपरेको ठान्छन् । कसैलाई पढ्न नपाएर दुःख पाएको लाग्नसक्छ भने कतिलाई उच्च पद नपाएर दुःखी बन्नुपरेको लाग्दो हो ! वास्तवमा खुशी त्यस्तो अवस्था हो जुन जस्तोसुकै अवस्थामा जहाँसुकै प्राप्त गर्न सकिन्छ । बस, त्यसका निम्ति मनलाई स्थीर गर्न सक्नुपर्छ र भौतिकताका साथै आध्यात्मिक ज्ञान हाशील गर्नुपर्ने हुन्छ ।

मुलुकमा बामपन्थवाद हावी भएकोले यहाँ भौतिकवादले प्रश्रय पाएको छ र शिक्षानीतिमा समेत त्यसको प्रकोप छ । विज्ञान भनेकै भौतिकवाद मात्र हो भन्ने बुझाइले अध्यात्म विज्ञानलाई नियोजितरूपमै उपेक्षा गरिरहेको छ । भौतिकवादले मानिसलाई आत्मकेन्द्रीत बनाउछ र छालाको सुखमा मात्र रमाउन सिकाउँछ ! जे-जे प्राप्त गर्नुपर्ने हो यही जिन्दगीमा प्राप्त गर्नुपर्छ र आफ्नो सुख नै सर्बोपरी हो भन्ने कालो चेतनाले मानिसलाई भरिदिन्छ । त्यसैले मानिस आफ्ना निम्ति जेसुकै गर्न तयार हुन्छन्, कुनै मूल्य-मान्यता र नैतिकताको ख्याल राखिँदैन ।

कुनैपनि मुलुक सभ्य र समृद्ध बन्नका निम्ति भौतिक विकाश र आध्यात्मिक चेतनाको विकाश सँगसँगै भएको पर्छ । आध्यात्मिकताले मानिसलाई जुनसुकै स्थितिमा पनि प्रशन्न चित्तमा रहन प्रेरित गरिरहन्छ भने भौतिकताले देहसुखमा केन्द्रीत गर्छ । भौतिकतावादी सोचका कारण मानिस चौतर्फी भड्किइरहेका हुन्छन् । देहसुखका निम्ति देशबाट पलायन हुने या एउटा मोटरसाइकल सस्तोमा चढ्न पाइन्छ भन्ने लोभमा एकथान मोटरसाइकलसँग देश साट्न तयार हुने घातक रोग देखापर्नुको मूल कारण नै भौतिकताको चरम प्रभाव हो । आध्यात्मिक र भौतिक दुवै पक्षको सन्तुलित विकाशले मात्र कुनैपनि मुलुकलाई साँचो अर्थमा सभ्य र समृद्ध तुल्याउन सक्छ ।

मुलुकमा बाम प्रकोप रहँदासम्म आध्यात्मिकताको विकाश सम्भव नहुने भएकोले मुलुकलाई सभ्य र समृद्ध तुल्याउने सबैभन्दा पहिलो शर्त बामप्रकोपबाट मुलुकलाई मूक्त गर्न सक्नु हो । बामप्रकोपले उत्तर कोरियामा झैँ भौतिक विकाश उत्कर्षमा पुऱ्याइए पनि मानिसलाई खुशी दिन सक्नेछैन, मानिसको खुशीबिनाको समृद्धि नरकतुल्य हुनेछ । त्यसैले नेपालीले दिन फर्काउने हो भने बामप्रकोपबाट आफूलाई मूक्त राख्न सक्नुपर्छ । बामप्रकोप भन्नाले कुनै एक या दुई पार्टीको प्रभाव भन्ने बुझ्नु हुँदैन, यतिबेला संसदमा रहेका सबै समूहहरू बामपन्थी हुन्, उनीहरू सबैले आफूलाई करेक्सन गर्न सक्नुपर्छ या यिनको विकल्पमा देशकेन्द्रीत मूलधारको राजनीतिक शक्ति विकाश गर्न सक्नुपर्छ । जरा नै विषाक्त भएकोले त्यसबाट पलाएका जुनसुकै समूह या शक्ति पनि उस्तै र एउटै देखिएका हुन् भनेर हामीले बुझ्नुपर्ने हुन्छ ।

दिन फर्काउनु भनेको खुशी र सुखको अवस्था बहाल गर्नु हो । बाम परिभाषामा दिन फर्काउनुको अर्थ ‘प्रतिगमन’ हुन्छ । बैशाख महिना एकपटक आएपछि कहिल्यै त्यो महिना नफर्कनुचाहिँ अग्रगमन हो बामदृष्टिमा, एकपटक जाडोयाम आएपछि कहिल्यै त्यस्तो मौसम प्रकट नहुनु अग्रगमन हो बामदृष्टिमा । तर ऋतुकाल बारम्बार दोहोरिइरहन्छ र यो नै प्रकृतिको नियम हो । ब्रह्माण्ड गोलो छ, ब्रह्मयात्रा घुमाउरो छ, त्यसैले गति हुँदाहुँदै पनि गन्तव्य एकैप्रकारले दोहोरिइरहेको हुन्छ । बितेको समय नफर्कने भए जाडोयाम किन फर्किन्छ ? गर्मी किन फर्कन्छ ? एकपटक आइसकेको बैशाख या जनवरी महिना घुमाइ-घुमाइ किन ल्याइन्छ ? यदि पुरानो अवस्थामा फर्कनु नै प्रतिगमन हो भने यो प्रकृति भन्ने तत्व सबैभन्दा ठूलो प्रतिगामी शक्ति हो । प्रकृति नै प्रतिगामी छ भने प्रकृतिभन्दा बाहिर हामी कोही र केहीपनि छैनौँ भनेर पनि हामीले नै सम्झाइदिनुपर्ने हो र ?

बिरुवामा पालुवा लाग्न वसन्त ऋतु नै घुमाइ-घुमाइ ल्याइरहनुपर्ने र बिरुवा हुर्काउन/बढाउन वर्षा ऋतु फर्काइरहनुपर्ने अवस्थालाई प्रतिगमन भनिन्छ भने यस्तो प्रतिगमन त मानिसलाई नभै हुन्न होइन र ?

हिजो बिर्सन आज राम्रो हुनुपर्छ, आज बिर्साउन भोलि अझै सुन्दर हुने सपना देखाउन सक्नुपर्छ । हिजोभन्दा आजको दिन खराब तुल्याइएपछि मानिसले सम्झने भनेकै हिजोलाई हो, भोलि कसैले देखेकै हुन्नन् ! त्यसमाथि हिजो शान्तसँग बसेका मानिसलाई आज भूमरीमा पार्ने काम जसले गरे तिनैका हात र साथ लागेर भोलिको आशामा कोही अघि बढ्ने सम्भावना हुन्छ र ?

राष्ट्रियता मजबूत र सम्मानित भएको, सार्वभौमिकता सुदृढ रहेको, सामाजिक सद्भाव र आन्तरिक एकता बलियो भएको, शासन-प्रशासन जनमैत्री भएको, शिक्षा र स्वास्थ्यसेवा शुल्कविहीन बनेको, भ्रष्टाचार र अपराधशून्य अवस्था भएको, रोजगारी र मनोरञ्जनका साधनहरूको पर्याप्तता रहेको, सुविधाजनक सडक र यातायातका साधनले समयमै सूरक्षित यात्राको सुनिश्चितता दिने स्थिति रहेको, स्वधर्म संस्कृति र स्वभाषा प्राथमिकतामा परेको, न्यायीक सुनिश्चितता रहेको, विदेश यात्रा गर्दा नेपाली पासपोर्टले उच्च सम्मान पाउने स्थिति बनेको, सुविधाजनक बसोबास र स्वस्थ तथा स्वादिष्ट भोजनको उपलब्धता सहज भएको, आत्मनिर्भर अर्थतन्त्रको विकाश भएको र प्रकृति (वन जङ्गल, खोला नदी, तालतलैया, पहाड, तराइ, चुरे र हिमाल) सूरक्षित एव्म संरक्षित रहेको अवस्था हुन्थ्यो भने मानिसले हिजो बिर्सेर आजकै गुणगान गाइरहेका हुनेथिए । अवस्था हिजोको भन्दा आज खराब भएपछि मानिस हिजोकै दिन फर्काउने कल्पना गर्छन् भने त्यो अस्वाभाविक होइन । भोलि सुन्दर तुल्याउने क्षमता, योग्यता र प्रतिबद्धता छैन भने तिमी पनि फर्कने भनेको हिजै हो, आज बर्बाद गर्ने तिमीले देखाउने भोलि हेर्न कोही पनि तिम्रा साथमा लाग्ने छैनन् ।

राजसंस्थाको पुनस्र्थापनाबाट सभ्यता र समृद्धिको पुनरागमन हुने विश्वास गर्नु एउटा ठूलो भ्रम हो, राजसंस्था पुनर्स्थापित हुँदा नेपालीले निष्पक्ष र राष्ट्रकेन्द्रीत व्यवहार गर्ने राष्ट्रप्रमुख पाउने आशा राखिएको मात्र हो, जसले कुनैपनि अवस्थामा नेपालीत्वलाई धोखा दिनेछैन भन्ने विश्वास गरिन्छ । तर, पञ्च र मण्डले बाहेकमाथि विश्वास गर्न नखोज्ने ब्यवहारले राजसंस्थासमेत निष्पक्ष रहनेमा आशङ्का थपेको छ । सबै विचार दर्शन, क्षेत्र र जात-धर्म भन्दा माथि रहने संस्थालाई मात्र राजसंस्था भनिन्छ । बामप्रकोपबाट मुलुकलाई मूक्ति दिलाउनु भनेको काङ्ग्रेस, एमाले, माओवादी आदिलाई निर्मूल गर्नु या उनीहरूबिनाको नेपाल बनाउनु भन्ने होइन । कसैले कसैलाई पराजित गर्ने, सिध्याउने, निर्मूल गर्ने या निषेध गर्ने अभ्यास हामीले शताब्दीदेखि गर्दै आएका हौँ, यस्तो अभ्यासले हामीलाई बर्बादीबाहेक केही दिएन, दियो भने केवल पाठ दियो । त्यसैले दिन फर्काउन सहमति र सहकार्यको वातावरण फर्काउन सक्नुपर्छ । नेताले नै त्यस्तो मार्गमा डोऱ्याउन खोजेको भए मानिसले राजाको सम्झना गर्ने थिएनन्, राजाले नै सम्वाद, समन्वय, सहमति र सहकार्यका निम्ति पहल गरिदिएका भए पनि जनता आफैले अग्रसरता लिनुपर्ने थिएन ।

राजालाई अप्ठ्यारो पर्दा राजा छोडेर खाजातिर लाग्नेहरूलाई अघिलगाएर हिजोको खुशी मिल्ने विश्वास गर्न सकिँदैन, गरिएको छैन । न ब्यापारमोहीहरूको पुनरागमनले नै समृद्धिको द्वार खोल्ने विश्वास गर्न सकिन्छ । त्यसैले हाम्रो हिजो हामीले नै फर्काउनुपर्छ, आफ्नो समृद्धिको द्वार आफैले खोल्नुपर्छ ! नेपालीको एकताबद्ध प्रयास नै समाधानको मार्ग हो, आउनुहोस्, हामी सबैले आफूलाई परिवर्तन गरौँ, आफ्नो सोच र ब्यवहार बदलौँ, त्यसपछि देश स्वतः बदलिने छ, जय मातृभूमि !