पूर्वराष्ट्रपति भण्डारी चीनमा

पूर्वराष्ट्रपति भण्डारी चीनमा


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिवसीय चीन भ्रमणका क्रममा गोञ्जाओ हुँदै बेइजिङ पुग्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका अधिकारीसँगै चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो । पूर्वराष्ट्रपति भण्डारी आइतबार (११ जेठ) साँझ उहाँको स्वागतमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभयो । उहाँलाई अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ च्यानछाउले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा नेपाल-चीनबीचको आपसी सम्बन्ध र त्यहाँ आयोजित कार्यक्रमको विषयमा सङ्क्षिप्त कुराकानी भएको थियो । उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलमा सहभागी पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्ट (एमाले) का सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले नेता कर्णबहादुर थापा, सांसद देवी भट्टचन, पूर्वसांसद गोमा देवकोटा, सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, मदन भण्डारी फाउन्डेसनका डा. कैलाशकुमार भण्डारी, डा. भेषराज अधिकारी, विनय केसीलगायत समाजका विभिन्न क्षेत्र र उहाँको निजी सचिवालयका गरी १५ जना सहभागी छन् ।

रात्रिभोजमा पूर्वराष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डल र चिनियाँ अधिकारीका साथै अन्य विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले सोमबार ‘छिमेकी मुलुकका राजनीतिक पार्टीहरुसँग चिनियाँ कम्युनिष्ट पार्टीको संवाद’ कार्यक्रमको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुनेछ ।

  • रासस