‘एसडीएफ’ आफ्ना नेता र नीति माथि अटुट आस्था र विश्वास राख्दछ !
- एमएन दाहाल, सिक्किम

सम्भवतः सिक्किम पहिलो राज्य हो जसले प्लास्टिक थैलीको उपयोगमा प्रतिबन्ध लगाएको थियो । स्कुले नानीहरुमा मिठाई, बिस्कुट, अरु प्लास्टिकमा भएका खानेकुराका खोलहरु यत्रतत्र नफ्याँक्ने आजको आदत १९९४/९५ तिर तत्कालिन एसडीएफ सरकारको नीतिको देन हो ।
पर्यवरण संरक्षणका निम्ति आज पनि इण्डिया टुडे ग्रुप जस्ता प्रतिष्ठित संस्थाहरुले कुरा उठाउँदा १९९४ देखि २०१६ सम्मका नीतिहरुको मुग्धकण्ठले प्रशंसा गर्दछन् । राज्यका जनतालाई पर्यावरण संरक्षणको भावी महत्वको ज्ञान, विवेक र व्यवहारसम्म दिने नेता एसडीएफ अध्यक्ष पवन चामलिङलाई वर्तमानले जस्तो व्यवहार गरोस् तर इतिहासले भने भुल्ने छैन।
नेपाली उपजातिका अनेक भषा र संस्कृति मासिने कगारमा पुगेका बेला नेवार, राई, गुरुङ, मगर, तामाङ आदि भाषाहरुलाई राज्यभाषाको रुपमा मान्यता दिइ तिनिहरुको संस्कृतिसम्मको सम्वर्द्धन र विकासका निम्ति पवन चामलिङले उठाएका कदमहरुको सिक्किमे समाजले मुल्याङ्कन गरोस् नगरोस तर अन्तर्राष्ट्रिय नेपाली समाज र भाषाविदहरुले मूल्याङ्कन गरेकै छन् । उनले पछौटे नेपालीहरुको शैक्षिक, आर्थिक विकास र सामाजिक समानताका निम्ति प्रयास गर्दा एक समुहले उनलाई जातिवादीको संज्ञा दिए । वास्तवमा हरेक जातिको भाषाको विकास र संस्कृतिको सम्वर्र्धन गर्न खोज्नु जातिको वैश्विक उपस्थिति मजबुत हुनु हो, तर आफूमात्र गैरकम्युनल र अरु सबै कम्युनल ठान्ने त्यही समुह आज पनि त्यही नाराको भरमा राजनीति गरिरहेको छ ।
चुनावहरु आउँछन् जान्छन्, जितिएला या हारिएला, त्यसले एसडीएफ पार्टीलाई केहि फरक पर्दैन । सामाजिक न्याय, समानता, आर्थिक न्यायका निम्ति एसडीएफ निरन्तर संघर्षमा रहन प्रतिबद्ध छ । एसडीएफ पार्टी आफ्ना नेता र नीति माथि अटुट आस्था र विश्वास राख्दछ ।
प्रतिक्रिया